एन्फा वुमेन्स च्याम्पियन: ६-१ गोल अन्तरमा आर्मी विजयी

मंगलबार संकटा फुटबल क्लब र चर्च ब्वाइजको प्रतिस्पर्धापछि विभागीय बाहेकको एकमात्र टिम बाँकी रहनेछ।

फाल्गुन ४, २०८२

भोटराज राई

ANFA Women's Champion: Army wins 6-1

What you should know

उदयपुर — उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी एन्फा वुमेन्स च्याम्पियनमा न्युरोड टिमलाई ६-१ ले पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ । खेलको १२ मिनेटमा आर्मीका जेनिफर रानाले पहिलो गोल गरेकी थिइन् । त्यसलगत्तै दुई मिनेटमा उनैले अर्को गोल थपिन् ।

७२ मिनेटमा थप एक गोल गरेर उनले ह्याट्रिक गरिन् । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भइन् । आर्मीकी दिपा राईले पहिलो हाफको थपिएको तीन मिनेटमा गोल गरिन् । ८१ मिनेटमा आर्मीकी सपना लामाले अर्को गोल गरिन् । उनैले ९०  मिनेटमा गरेको थप एक गोलपछि ६ गोल पुगेको थियो । 

न्युरोड टिमको तर्फबाट कविता गुरुङले ३४ मिनेटमा टिमका लागि एक गोल फर्काउन सफल भइन् । भोलिको खेलमा संकटा फुटबल क्लबले चर्च बोईजको सामना गर्नेछ । 

हालसम्मकोखेलबाट गाइघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब,  आरएस रिसोर्ट र न्यूरोड टिम बाहिरिएको छ । नेपाल पुलिस, चर्च बोइज, एपीएफ र त्रिभुवन आर्मीअगाडि बढेका छन् । 

आगामी ९ गते फाइनल हुने प्रतियोगिताको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) र  सहआयोजक जिल्ला फुटबल संघ उदयपुर हो । उपाधि विजेतालाई ७ लाख ५० हजार र  र उपविजेतालाई ५ लाख नगदसहित ट्रफी, मेडलर प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ ।

विभागीय टिमको खेल सशंक्त 

नेपालकातीन प्रमुख विभागीय टिमहरू प्रतियोगितामा अगाडि छन् । नेपाल पुलिस, सशस्त्र प्रहरी र त्रिभुवन आर्मी प्रतियोगितामा अगाडि देखिएका छन्।

अहिलेसम्मकोखेलमा विभागीय टिमहरू सबै खेलमा हावी देखिए । पुलिसले एफ रियललाई १० -० फराकिलो अन्तरले पराजित गरेको थियो । सशस्त्र प्रहरीले आरएस रिसोर्टलाई १९-० को फराकिलो अन्तरले पराजित गरेको थियो भने आज आर्मीले न्युरोड टिमलाई ६-१ को गोल अन्तरले पराजित गरेको हो ।

भोटराज राई भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully