आहा–रारा गोल्डकप: आशिषको निर्णायक गोलले मनाङ सेमिफाइनलमा

सोमबार प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै ६ पल्टको च्याम्पियन मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।

फाल्गुन ४, २०८२

दीपक परियार

Aha-Rara Gold Cup: Ashish's decisive goal sends Manang into semifinals

What you should know

पोखरा — पोखराको मैदानमा सर्वाधिक रुचाइएको मनाङ मर्स्याङदी क्लब २५ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको निकै प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै ६ पल्टको च्याम्पियन मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै पक्षले रक्षात्मक र आक्रामक रणनीति अपनाए पनि फिनिसिङमा चुक्दा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा मनाङका आशिष क्षेत्रीले गोलको खडेरी तोडे । उनको गोल नै मनाङका लागि निर्णायक सावित भयो । कर्नर किकबाट आएको बललाई डिबक्सभिक्र रहेका आशिषले शत्तिशाली हेडमार्फत पोस्टको दिशा दिएका थिए । उनको सोही गोलको मद्दतले मनाङले कठिन जित निकाल्न सफल भयो ।

खेलको ९७ औं मिनेटमा थन्डरबोल्टले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । सुराग क्षेत्रीले प्रहार गरेको शक्तिशाली बल गोलपोस्टमा लागेर फर्किएको थियो । गोललाइन नजिकैबाट रिबाउन्ड भएको उक्त बललाई मनाङका गोलरक्षक विशाल केसीले तत्कालै क्लियर गरेपछि सिक्किमेली टोली स्तब्ध बनेको थियो ।

खेलको निर्णायक गोलकर्ता आशिष क्षेत्री ‘प्लेयर अफ द म्याच’ चुनिए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार हात पारे । यस जितसँगै मनाङ प्रतियोगिताको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । अब फाइनल प्रवेशका लागि मनाङले आयोजक सहारा क्लब पोखराको सामना गर्नेछ । दोस्रोपल्ट सहभागिता जनाएको थन्डरबोल्ट भने राम्रो खेल प्रदर्शन गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा उज्वेकिस्तानको आभा एफसी र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully