यु-१२ तर्फ बाल संसार इङ्लिस बोर्डिङ र यु-१४ तर्फ धनकुटा इङ्लिस बोर्डिङ स्कुलले उपाधि जितेका हुन् ।
What you should know
धनकुटा — धनकुटामा आयोजित विद्यालयस्तरीय फुटबल प्रतियोगितामा यु-१२ तर्फ बाल संसार इङ्लिस बोर्डिङ स्कुल र यु-१४ तर्फ धनकुटा इङ्लिस बोर्डिङ स्कुलले उपाधि जितेका छन् ।
बालश्रमविरुद्ध सचेतना फैलाउने उद्देश्यले न्यू नव प्रभात क्लब, धनकुटाले विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
माघ २९ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगितामा यु-१२ मा ८ तथा यु-१४ मा ७ विद्यालयको सहभागिता थियो । प्रतियोगिता दुई उमेर समूह यु-१२ र यु-१४ मा सञ्चालन गरिएको थियो ।
यु-१२ तर्फको फाइनल खेलमा बाल संसार इङ्लिस बोर्डिङ स्कुलले तमोर भ्याली इङ्लिस बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ७-६ गोलअन्तरले पराजित गर्दै उपाधि उचाल्यो । विजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता तमोर भ्यालीले नगद ७ हजार ५ सय रुपैयाँमा चित्त बुझायो ।
त्यस्तै, यु-१४ तर्फ धनकुटा इङ्लिस बोर्डिङ स्कुलले बालसंसार इङ्लिस बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ४-२ गोलअन्तरले हराउँदै उपाधि जित्यो । विजेता धनकुटा इङ्लिस बोर्डिङ स्कुलले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता बालसंसारले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा बेस्ट कोच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा दुवै विधामा उदयमान खेलाडीलगायत विधामा समेत पुरस्कृत गरिएको थियो ।
क्लबका अध्यक्ष गोविन्द राईका अनुसार प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, टिम भावना र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
