दीपेन्द्रसिंह ऐरीले ५८ रन बनाएपछि मात्र नेपालले हेर्नलायक स्कोर बनाएको हो
What you should know
मुम्बई — नेपालले ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजलाई १ सय ३४ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजका कप्तान साई होपले आइतबार मुम्बईको वानखडे रंगशालाको मैदानमा टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनाएको हो ।
दीपेन्द्रसिंह ऐरीले ५८ रन बनाएपछि मात्र नेपालले हेर्नलायक स्कोर बनाएको हो । नेपाली खेलाडीको ट्वान्टी–२० विश्वकपमा यो केवल दोस्रो अर्धशतक हो । सुवास खकुरेलले २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध यसअघि अर्धशतक बनाएका थिए ।
नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । अकिल हुसेनले कुशल भुर्तेललाई पाँचौँ बलमा बोल्ड गरेका थिए ।
कप्तान रोहित पौडेल ७ बलमा ५ रनमात्र बनाई म्याथ्यु फोर्डको बलमा एलबीडब्लू आउट भए । त्यसपछि जेसन होल्डरले शेख दाजु भाइ आसिफ र आरिफलाई आउट गरे ।
दुई चौका प्रहार गरी १० बलमा ११ रन बनाएका आसिफ फाइन लेगमा क्याच दिन पुगे । आरिफ पनि २ रनमा मिडविकेटमा क्याच भए । नेपालले पावरप्लेको पहिलो ६ ओभरमा २२ रनमात्र बनाउन सकेको थियो र ३ विकेट गुमाएको थियो । त्यसपछिको ४ ओभरमा नेपालले २० रन जोडेको थियो ।
लोकेश बमले १३ रन बनाए । १५ बल खेली २ चौका प्रहार गरेका उनी समर जोसेफको लेग साइडमा गएको बलमा विकेटकिपरलाई क्याच दिन पुगे । दीपेन्द्रसिंह ऐरी र गुलशन झाले छैटौं विकेटमा २६ बलमा २७ रनको साझेदारी गरे । एक छक्का प्रहार गरेका गुलशनलाई रोस्टन चेजले बोल्ड गरिदिए ।
दीपेन्द्र र सोमपाल कामीले सातौं विकेटमा २६ बलमा ५४ रनको साझेदारी गरे । नेपाली इनिङ्सको यो सबैभन्दा ठूलो साझेदारी थियो । होल्डरले फालेको १८ औं ओभरमा नेपालले १६ रन जोडेको थियो । त्यसमा सोमपालले होल्डरलाई लगातार ३ चौका प्रहार गरेका थिए । दीपेन्द्रले २ छक्का प्रहार गरेपछि नेपालले १९ ओभरमा कुल १८ रन जोडेको थियो ।
दीपेन्द्र अन्तिम ओभरमा होल्डरको बलमा लङअफमा क्याच दिन पुगे । उनले ४७ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । सोमपाल १५ बलमा २६ रन बनाई अविजित रहे । उनले ४ चौका प्रहार गरे । करण केसी १ रन बनाई अन्तिम बलमा आउट भए ।
वेस्ट इन्डिजबाट होल्डरले ४ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चे । फोर्डले ४ ओभरमा १ मेडन राख्दै १० रनमात्र खर्चेर १ विकेट लिए । फोर्डसँगै हुसेन, जोसेफ र चेजले १–१ विकेट लिएका हुन् ।
नेपालले देब्रेहाते स्पिनर ललित राजवंशीको स्थानमा मिडियम पेस अलराउन्डर सोमपाल कामीलाई खेलाएको थियो । प्रतियोगितामा पहिलो खेल खेल्दै उनी तेस्रो पटक विश्वकपमा खेल्ने नेपालको पहिलो खेलाडी बने । नेपालले यसअघि २०१४ र २०१६ को विश्वकपमा पनि सोमपालले खेलेका थिए ।
नेपालले सेप्टेम्बरमा यूएईको शारजहाँमा वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ऐतिहासिक रूपमा २–१ ले जितेको थियो । त्यो टोलीका केवल दुई खेलाडी हुसेन र होल्डरमात्र अहिलेको वेस्ट इन्डिजको टोलीमा रहेका छन् । वेस्ट इन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसेनले शारजहाँमा क्यारेबियन टोलीको नेतृत्व गरेका थिए ।
नेपाल समूहको ‘सी’ को पुछारमा छ भने वेस्ट इन्डिज शीर्ष स्थानमा । नेपाल पहिलो दुई खेलमा इंग्ल्यान्डसँग ४ रनले र इटालीसँग १० विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजले पहिलो दुई खेलमा स्कटल्यान्डलाई ३५ रनले र इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो ।
नेपाललाई पराजित गरेमा वेस्ट इन्डिजको सुपर एटमा स्थान पक्का हुनेछ । नेपालको अर्को चरणमा प्रवेश गर्ने सम्भावना गणितीय हिसाबमा मात्र रहेको छ ।
