इटालीसँग पाठ सिकेको नेपाल वेस्ट इन्डिजसँग सतर्क

वेस्ट इन्डिज र नेपालबीच आइतबार हुने खेल सेन्टर विकेटभन्दा छेउको पिचमा तयारी गरिँदै, वेस्ट इन्डिजका हुसैन भन्छन्, ‘हामीलाई थाहा छ, उनीहरूले के गर्न सक्छन् र कत्तिको क्षमता छ भनेर । यो हामीले पछिल्लो केही खेलमा देखिसकेका छौं ।’

फाल्गुन ३, २०८२

विनोद पाण्डे

What you should know

मुम्बई — नेपाली क्रिकेट टोली शनिबार मुम्बईको वानखेडे रंगशालाको मैदानमा प्रशिक्षणका लागि प्रवेश गरेपछि प्रशिक्षक स्टुवार्ट ल सोझै विकेट छेउ पुगेका थिए । ट्वान्टी–२० विश्वकपमा यहाँ नेपालले खेलेको खेलसहित अन्य खेलहरू सेन्टर विकेटमा खेलाइएको थियो ।

वेस्ट इन्डिज र नेपालबीच आइतबार हुने खेल पिच सेन्टर विकेटभन्दा छेउको तयारी गरिँदै थियो । त्यही भएर अस्ट्रेलियन प्रशिक्षक लले पिचलाई हातले केही समय स्पर्स गरे । सेन्टर विकेटको तुलनामा तयार गरिँदै आएको पिचमा घाँस कम छ, यसले ठूलो स्कोरको खेलको संकेत गरेको छ ।

‘हामी यहाँ आएदेखि पिचहरू एकनासका छन्, भोलि हुने विकेट नयाँ हो, तर यो विकेटमा रणजी ट्रफीका खेलहरू भएका छन् । विकेट अलिकति भिजेको हुनसक्छ, खेल अघि बढ्दै गएपछि सुक्ने गर्छ । हामी आफैंले गलत खेलेका हौं, त्यसैले पिचलाई म दोष दिन चाहन्न,’ नेपालका प्रशिक्षक लले भने, ‘विकेट त्यस्तो फरक हुने छैन । हामीले राम्रो खेल्ने हो भने वेस्ट इन्डिजलाई दबाब दिन सकिन्छ ।’

इटालीविरुद्ध नेपाली क्रिकेट इतिहासको लज्जास्पद १० विकेटको पराजय बेहोर्दा नेपालको ब्याटिङ तहसनहस भयो । यो नेपाली क्रिकेटकै सबैभन्दा पीडादायी हार थियो । प्रिम्याच प्रेस कन्फ्रेन्समा निकै लामो समय बिताएका प्रशिक्षक ल पनि इटालीसँगको हारबाट उठ्न सकिरहेका थिएनन् भने अधिकांश समय उनले यसैको जवाफ दिनुपरेको थियो ।


‘इटालीसँगको प्रदर्शनबाट निकै निराश छौं, हामीले इंग्ल्यान्डसँगको जस्तो खेल खेल्ने सकेनौं, हामी आफ्नो खेल योजनाभन्दा बाहिर गएर खेलेका थियौं र निकै खराब खेल थियो,’ लले सुनाए, ‘सायद, हामी अलिक बढी नै आत्मविश्वासी भयौं । इटालियन टोलीमा केही उत्कृष्ट खेलाडी छन् । उनीहरूले हाम्रो खेल खेल्नै दिएनन् । कुनै पनि क्षेत्रमा हामीले प्रदर्शन देखाउन सकेनौं । इटालीले कुनै मौका नै दिएन ।’

कप्तान रोहित पौडेल ज्वरो आएका कारण शनिबारको प्रशिक्षणमा सामेल थिएनन् । रोहितलाई अघिल्लो दिन ज्वरो आएको र शनिबार पेट पनि दुखेकाले प्रशिक्षण गर्न नसकेको प्रशिक्षकले जानकारी गराए । तर वेस्ट इन्डिजसँगको खेलका लागि उपलब्ध हुने उनको विश्वास छ । 

वार्मअपमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, गुलशन झालगायत ५ खेलाडी हरियो बिप्समा उत्रिएका थिए । फुटबल खेल्ने क्रममा उनीहरूको एउटा समूह थियो । त्यसपछि टोली नेट्समा आएको थियो । करण केसी र सोमपाल कामीले जोडतोडले बल फालिरहेका थिए । आसिफ शेख त्यसमा ठुल्ठूला शट प्रहार गर्ने प्रयास गरिरहेका थिए । सोमपालले नेपालले खेलेको पहिलो दुई खेलमा मौका पाएका थिएनन् । त्यसपछि गुलशन झा र नन्दन यादव बलिङमा आएका थिए । पहिलो दुई खेलमा सातौं नम्बरमा ब्याटिङ गरे पनि अलराउन्डर गुलशनले बलिङ गरेका छैनन् । 


अफ स्पिनर शेर मल्ल अर्को विकेटमा निरन्तर बल घुमाइरहेका थिए । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा ‘डेब्यु’ गर्दै शेरले आफ्नो बलमै फिल साल्टलाई आउट गरेका थिए । तर उनलाई इटालीविरुद्ध खेलाइएको थिएन । वेस्ट इन्डिजको टोलीमा सिमरन हेटमायर र एकल हुसैन देव्रेहाते ब्याटर रहेकाले शेरको प्लेयिङ ११ मा खेल्ने सम्भावना बढेको छ । 

नेपालले सेप्टेम्बरमा यूएईको शारजहाँमा वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । पूर्ण राष्ट्रविरुद्ध खेलेको यो पहिलो शृंखला नेपालले ऐतिहासिक रूपमा २–१ ले जितेको थियो । त्यो टोलीका केवल दुई खेलाडी हुसैन र जेसन होल्डरमात्र अहिलेको वेस्ट इन्डिज टोलीमा छन् । वेस्ट इन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसैनले शारजहाँमा क्यारेबियन टोलीको नेतृत्व गरेका थिए । 

‘नेपाल एकत्रित भएर खेलिरहेको छ, उनीहरूले धेरै संख्यामा क्रिकेट खेल्दै आएका छन् । उनीहरूले पक्कै शारजहाँमा हामीलाई पराजित गरेका हुन्, तर त्यतिखेर हाम्रो धेरै सिनियर खेलाडी थिएनन् । त्यसैले हामी यो खेललाई प्रतीक्षा गरिरहेका छौं,’ हुसैनले नेपालबारे भने, ‘हामीलाई थाहा छ, उनीहरूले के गर्न सक्छन् र कत्तिको क्षमता छ भनेर । यो हामीले पछिल्लो केही खेलमा पनि देखिसकेका छौं ।’


उनले नेपालले खेलमा गुमाउनु केही नरहेको जनाए । ‘नेपालका लागि विश्वकपको मञ्च भनेको यहाँ आउन र बाँकी विश्वलाई हामी पनि प्रतिस्पर्धा गर्न सक्छौं भनेर देखाउन हो,’ हुसैनले अगाडि भने, ‘ठूलो वा सानो टोली भन्ने हुँदैन । जसले त्यो दिनमा राम्रो खेल्छ, त्यही राम्रो टिम हुन्छ । हामी उनीहरूलाई नेपालविरुद्ध खेल्दैछौं भन्ने दृष्टिले हेर्दैनौं, हामीले जित्नुपर्ने विश्वकपको अर्को खेल भनेर लिन्छौं ।’ 

विकेटकिपर एवं ओपनिङ ब्याटर जोन्सन चार्ल्ससहित रोस्टन चेज, म्याथ्यु फोर्ड, गुडाकेश मोटी वेस्ट इन्डिज ‘ए’ बाट नेपाली राष्ट्रिय टोलीसँग खेल्न सन् २०२४ को मेमा काठमाडौं आएका थिए । नेपालले ५ खेलको उक्त शृंखला ट्वान्टी–२० विश्वकपको तयारी बनाएको थियो भने नेपालमा कप्तानी गरेका चेज, मोटीसहितले वेस्ट इन्डिजको विश्वकप टोलीमा स्थान बनाएका थिए । 

दुई देव्रेहाते स्पिनरद्वय हुसैन र मोटी नेपाली ब्याटिङका लागि ठूलो चुनौती हुनसक्छन् । हुसैन इंग्ल्यान्डसँगको खेलमा ओपनिङ बलरको रुपमा आएर १ विकेट लिएका थिए भने मोटीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । तीव्र गतिका बलर रोमारियो सेफर्डले स्कटल्यान्डसँगको खेलमा ह्याट्रिकसहित ५ विकेट लिएका थिए । 

वेस्ट इन्डिज पहिलो दुई खेलमा स्कटल्यान्ड र इंग्ल्यान्डलाई पराजित गरी समूह ‘सी’ को शीर्षस्थानमा छ भने नेपाल दुवै खेल हारेर पुछारमा छ । वेस्ट इन्डिजले पहिलो दुई खेलमा उपाधि दाबेदारिता देखाइरहेको छ । वेस्ट इन्डिजले २०१२ र २०१६ मा गरी दुई पटक यो प्रतियोगिता जितिसकेको छ । दुबै पटक यस च्याम्पियन टोलीका कप्तान रहेका डारेन सामी अहिले वेस्ट इन्डिज टोलीका प्रशिक्षक हुन् । उनी पनि यसअघिको पत्रकार सम्मेलनमा अझ बढी आत्मविश्वासी देखिएका थिए ।


नेपालका प्रशिक्षक ल कुनै समय वेस्ट इन्डिजको प्रशिक्षक थिए । इटालीसँगको हार विश्लेषण गर्दा आफ्नो विगतको अनुभवका आधारमा उनले विश्वकपमा टोली उतार्न निकै कठिन कार्य भएको जनाइरहेका थिए । वेस्ट इन्डिजलाई कसरी रोक्ने भनेर सबैभन्दा बढी उनले नै बुझेका होलान् । 

‘हामीले वेस्ट इन्डिजसँगको खेलमा राम्रो मिहिनेत गर्नुपर्छ, मैले नतिजातर्फ ध्यान दिइरहेको छैन, केवल प्रयासमा ध्यान केन्द्रित गरिरहेको छु,’ उनले भने, ‘यो प्रयास मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि हो । हामीले खेलमा आफ्नो शतप्रतिशत दिनुपर्छ । वेस्ट इन्डिज १–२ रनका लागि भन्दा पनि ठूला शटहरू खेल्न खोज्छ, त्यसमा ध्यान दिनुपर्छ ।’

आजका खेल 

नेपालविरुद्ध वेस्ट इन्डिज – ११ः१५ बजे

नामिबियाविरुद्ध अमेरिका – १५ः१५ बजे

भारतविरुद्ध पाकिस्तान – १९ः१५ बजे

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully