आयोजक प्याब्सन काठमाडौंले आइतबार यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा प्याब्सन कोशीलाई ९ रनले पराजित गरेको हो ।
What you should know
काठमाडौँ — आयोजक प्याब्सन काठमाडौंले आइतबार यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा प्याब्सन कोशीलाई ९ रनले पराजित गरेको छ ।
तीन खेलमा दुई जित हात पारेको काठमाडौंको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । लगातार तेस्रो हारसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमबार प्याब्सन गण्डकी र प्याब्सन लुम्बिनीबीच हुने खेलले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्ने छ ।
तल्लो मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ को खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन बनायो । प्लेयर अफ द म्याच तपेन्द्र विष्टले अविजित ४९, सन्दीप साउदले २३ र जोन ओलीले १९ रन बनाए । कोशीका प्रज्ज्वल सेढाईंले २, आकाश यादव र उज्ज्वल खतिवडाले १–१ विकेट हात पारे ।
प्रत्युत्तरमा कोशीले २० ओभरमा ९ विकेट क्षतिमा १ सय ३३ स्कोर गर्यो । लुसेङ गुरुङले ४०, प्रज्ज्वल अधिकारीले २३, उत्तम राजवंशी र रुसल सुन्दासले १३–१३ रन जोडे । काठमाडौंका इन्साव बोहराले २, तपेन्द्र विष्ट, प्रयुश उप्रेती, शम्भु ढकाल र सुशान्त लामिछानेले १–१ विकेट लिए ।
सेमिफाइनल पुगिसकेका दुई टिमको खेलमा प्याब्सन मधेशले प्याब्सन बागमतीलाई १८ रनले हराएर समूह ‘बी’ को विजेता बन्यो । पहिलो ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन जोड्यो । बागमती पूरै २० ओभर खेल्दै ९ विकेट गुमाई ९६ रनमा सीमित भयो । २५ रन जोड्नुका साथै २ विकेट लिएका मधेशका खिलराज सर्राफ प्लेयर अफ द म्याच बने ।
