हालसम्मको खेलबाट गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब र आरएस रिसोर्ट बाहिरिएको छ । एनआरटी, नेपाल पुलिस, चर्च ब्वाइज र एपीएफ अगाडि बढेको छ ।
What you should know
उदयपुर — उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी एन्फा वुमेन्स च्याम्पियनमा आइतबार विभागीय टिम सशस्त्र प्रहरी (एपीएीफ)ले आरएस रिसोर्टलाई १९ गोलको फराकिलो गोल अन्तरले जित हात पारेको छ ।
आरएस रिसोर्टले खाता खोल्न समेत नसक्दा एपीएफले १९ गोल गरेको हो। पहिलो हाफमै एपीएफले सात गोल गर्यो ।
खेलको २३ मिनेटमा गोल गरेकी एपीएफसी जर्सी नम्बर १९ की रश्मी कुमारी घिसिंङले ३५ मिनेट र ४५ मिनेटमा थप दुई गोल गरी पहिलो हाफमै ह्याट्रिक गरिन् । उनले दोस्रो हाफमा ८ गोल थपेर टिमलाई ११ गोलको योगदान गरिन्। उनी नै खेलको म्यान अफ दि म्याच घोषित भइन्।
एपीएफकी जर्सी नम्बर १५ का अनिता केसीले ७ मिनेटमा टिमकै लागि पहिलो गोल गरिन् । दोस्रो हाफको ५१ मिनेट र ७३ मिनेटमा गोल थपेर ह्याट्रिक चुमिन् ।
खेलको १० मिनेटमा जर्सी नम्बर ८ की सरु लिम्बुले गोल गरिन् । १९ मिनेटमा जर्सी नम्बर २१ की निशा थोकरले गोल गरिन् । ३१ मिनेटमा जर्सी नम्बर १२ की गिता राणाले गोल गरी हाफटाइम अगाडि टिमको ७ गोलमा योगदान गरिन् । ५० मिनेटमा जर्सी नम्बर २ कि मनमाया धमालले गोल गरिन् । ७० औं मिनेटमा जर्सी नम्बर १७ की हिमा रावतले गोल गरिन्।
आजको खेलमा आरएस रिसोर्टले शून्यमै चित्त बुझाउनु पर्यो । उनीहरूले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । सोमबारको खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम काठमाडौं आम्नेसाम्ने हुनेछन् । न्युरोड टिम गाईघाट फुटबल क्लबलाई जितेर आएको हो।
हालसम्मको खेलबाट गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब र आरएस रिसोर्ट बाहिरिएको छ । एनआरटी, नेपाल पुलिस, चर्च बोइज र एपीएफ अगाडि बढेको छ । संकटा फुटबल क्लबले भने खेल्न बाँकी छ। संकटाले फागुन ५ गते चर्च ब्वाईजको सामना गर्नुपर्नेछ ।
आगामी ९ गते फाइनल हुने प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ। उपाधि विजेतालाई ७ लाख ५ हजार र र उपविजेतालाई ३ लाख नगद पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ ।
