इटालीले सिकाएको सबक

विश्वकप एउटा यस्तो मञ्च हो, जहाा गरेको प्रदर्शनले विश्व क्रिकेटमा भोलिका दिनमा धेरै प्रभाव पार्छ, सुपर एटमा पुग्ने दाबी गरिरहेको नेपालले एउटै खेल जित्न सकिरहेको छैन, किन ?

फाल्गुन २, २०८२

विनोद पाण्डे

What you should know

मुम्बई — ‘विश्व मञ्चमा आफ्नो परिचय दिने यसरी नै हो । यो इटालीले दिएको अभिव्यक्ति पनि हो । यो त्यही टोली हो, जसले आफ्ना कप्तानलाई पहिलो खेलमै गुमाएको थियो र विपक्षी त्यही टोली हो, जसले इंग्ल्यान्डलाई अघिल्लो खेलमा ठूलो डर देखाइदिएको थियो । यस्तो विपक्षी टोलीलाई पराजित गर्नुले हाम्रो टोलीको बारेमा धेरै स्पष्ट पार्दछ,’ नेपालमाथि  ट्वान्टी–२० विश्वकप क्रिकेटमा ऐतिहासिक १० विकेटको विजय हात पारेपछि इटालियन क्रिकेटले एक्स (ट्वीटर) मा यस्तो पोस्ट गरेको छ ।

खासै ठूलो क्रिकेट संस्कार र संरचना नभएको इटालीसँग मुम्बईमा नेपालले कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्न सकेन । ब्याटिङ र बलिङमा त इटालीभन्दा निकै फितलो देखिएको थियो भने फिल्डिङमा पनि इटालीले पाएका कुनै पनि मौकाहरू गुमाएन, जसको कारण नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा लज्जास्पद हार बेहोर्नुपरेको थियो । ब्याटिङका लागि हाइस्कोरिङ मानिएको वानखेडे स्टेडियममा नेपालको ब्याटिङ धराशायी भएको थियो ।

आफूभन्दा १० स्थान तलको राष्ट्रसँग फराकिलो विजय हात पार्ने आस लिएर आएको नेपाल १३ ओभरभित्रै आत्मसमर्पण गर्न पुगेको थियो । इटाली त्यही टोली हो, जसलाई नेपालले सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ मा ८ विकेटले पराजित गरेको थियो । ५० ओभरको उक्त खेलमा नेपालले १ सय २७ रनको लक्ष्य १५ ओभरभित्र पूरा गरेको थियो ।

‘हामी निकै भावुक भएका छौं, निश्चय पनि यस्तो ऐतिहासिक जितपछि केही खेलाडीको आँखामा आँसु थियो, उनीहरूले उत्कृष्ट प्रयास गरेका हुन् । दोस्रो इनिङ्समा हामी केही नर्भस पनि थियौं, तर जुन हिसाबले जस्टिन र एन्थोनी मोस्काले ब्याटिङ गरे, त्यो अविश्वसनीय थियो,’ इटालीका प्रशिक्षक जोन डेभिसनले जितको श्रेय लिँदै भनिरहेका थिए, ‘यो इटालीका लागि ऐतिहासिक क्षण हो ।’

विश्वकपमा पछिल्ला ६ खेल खेलिसक्दा एउटा पनि जित हात गर्न नसकेको नेपाल यो स्तरका लागि योग्य नभएको हो कि भनेर प्रशंसकले अड्कल काट्न थालेका छन् । सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा एउटै खेल जित्न सकेको छैन । सन् २०२४ को विश्वकपमा नेपाललाई नेदरल्यान्ड्स, बंगलादेश र दक्षिण अफ्रिकाले पराजित गरेको थियो भने श्रीलंकासँगको खेल वर्षाले रद्द पारेको थियो ।

नियमित कप्तान वायन म्याडसन स्कटल्यान्डसँगको पहिलो खेलमै घाइते भएका थिए । नेपाल भने पहिलो खेलमा इतिहास रच्नका लागि नजिक पुगेर रोकिएको थियो । इंग्ल्यान्डविरुद्ध १ सय ८५ रनको विजय लक्ष्यभन्दा नेपाल ४ रनले मात्र चुकेको थियो । इटालीसँग भने नेपालले कुनै क्षण यस्तो थिएन, जहाँ पूर्ण आत्मविश्वासका साथ खेलेको थियो । नेपाली क्रिकेट ३६० डिग्रीबाट एकै पटक १८० डिग्रीमा झरेको थियो । नेपालले आफ्नो स्तर बुझ्ने मौका पनि पाएको थियो । इंग्ल्यान्डसँगको खेलपछि नेपाललाई टेस्ट राष्ट्रका विभिन्न टोलीले म्याच खेल्ने प्रस्ताव राखेका थिए । इटालीसँगको खेलपछि नेपालले त्यो सबै अवसर गुमाएर आइसल्यान्ड जानुपर्ने त होइन भन्ने चिन्ता समर्थकमा देखिन्थ्यो ।

इटालीका बेन मानेन्टीले नेपालसँग खेलको पहिलो ओभरमा १ रनमात्र दिएका थिए, त्यो पनि वाइडबाट । नेपालले त्यसपछि दबाबमा खेलेको थियो र दोस्रो ओभरमा चौका प्रहार गरेको अर्को बलमा कुशल भुर्तेललाई अली हसनले आउट गरेका थिए । कप्तान रोहित पौडेल र आरिफ शेखलाई छाड्ने हो भने नेपाली ब्याटर एकपछि अर्को आउट भइरहे । ब्याटरहरूले एउटै गल्ती दोहोर्‍याइरहेका थिए । रोहित, आरिफसहित गुलशन झा, लोकेश बमले वानखेडेको छोटो बाउन्ड्री लाइनमा क्याच दिन पुगेका थिए ।

नेपालको बलिङ पनि ‘धार’ नभएको हतियार जस्तो देखिएको थियो । खेलमा कुनै पनि यस्तो क्षण थिएन, जहाँ नेपाली बलरले आशा देखाएका थिए । प्रत्येक नेपाली बलरको ओभरमा मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले कम्तीमा एउटा बाउन्ड्री प्रहार गरेका थिए । उनीहरूको ब्याटिङ हेर्दा यस्तो लाग्थ्यो, नेपाली बलरलाई कुनै टेस्ट राष्ट्रका विस्फोटक ओपनिङ जोडीले राम्रै धुलाई गरिरहेका थिए ।

नेपाली ब्याटिङका आशा हुन् शेख दाजुभाइ आरिफ र आसिफ । ओपनर आसिफ आउट भएपछि क्रिजमा पुगेका थिए आरिफ । उनीहरूलाई एक साथ ब्याटिङ गर्ने अवसर जुरेन । तर मोस्का दाजुभाइले १ सय २४ रनको लक्ष्य सजिलै पूरा गरेका थिए । उनीहरू त्यसक्रममा ट्वान्टी–२० विश्वकपमा सबैभन्दा ठूलो साझेदारी गर्ने दाजुभाइ बनेका थिए । पाकिस्तानका अजमाल दाजुभाइ कमरान र उमरले यसअघि २०१४ को ट्वान्टी–२० को विश्वकपमा अस्ट्रेलियाविरुद्ध ९६ रन जोडेका थिए ।

नेपालको ब्याटिङमा देखिएको एउटा समस्या पर्याप्त देब्रेहाते ब्याटर नहुनु पनि हो । गुलशनले दुवै खेलमा बलिङ गरेका छैनन्, तर उनी ब्याटिङमा पनि सातौं नम्बरमा आइरहेका छन् । इटालियन क्रिकेटले खेलपछि भनेको थियो, ‘नेपालले राम्रो खेलेको हो, तर आज भाग्य राम्रो भएन । तर सम्झनुहोस् यहाँबाट बढ्ने भनेको अगाडि मात्र हो ।’

नेपालका पूर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का इटालीसँग जुन हिसाबले पराजित भयौं, त्यो स्वीकार्न गाह्रो भएको सुनाउँछन् । ‘खेल हो, जित–हार हुन्छ, कुनै पनि हार कठिन हुन्छ । जित्दाखेरि सधैं खुसी हुने हो हार्दा दुःख, निश्चय पनि यो दुःखदायी हार हो, नेपालको हारमा धेरैजना दुखी हुनुहुन्छ, नेपालले इतिहासमै खेलको यो सबैभन्दा खराब खेल थियो, जुन टिमले पनि स्विकारिसकेको छ,’ सचिव पारसले भने, ‘नेपाली क्रिकेट समर्थक हुन सजिलो छैन, म पनि अहिले नेपाली क्रिकेटको समर्थकको रूपमा हेरिरहेको छु । हामी जति दुःखी छौं, त्योभन्दा दुःखी खेलाडी छन् । तर पुनरागमन गर्न त्यहाँ जहिले पनि अर्को खेल हुन्छ, आशा छ नेपालले पुनरागमन गर्नेछ ।’

विश्वकप एउटा यस्तो मञ्च हो, जहाँ गरेको प्रदर्शनले विश्व क्रिकेटमा भोलिका दिनमा धेरै प्रभाव पार्छ । सुपर एटमा पुग्ने दाबी गरिरहेको नेपालले एउटै खेल जित्न सकिरहेको छैन । नेपालले 

एकपछि अर्को मौका गुमाइरहेको छ । टेस्ट मान्यताको दाबी गरेको नेपालले विश्वकपमै खेल जित्न सकिरहेको छैन । एकदिवसीय विश्वकपको छनोटको आधार रहेको विश्वकप लिग २ मा पनि नेपालको प्रदर्शन उस्तै छ । टोली ८ राष्ट्र सहभागी प्रतियोगितामा सातौं स्थानमा छ । नेपालले कतै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाउनुपर्ने त होइन भन्ने डर छ ।

सचिव पारस विश्वकपमा देखाएको प्रदर्शनको प्रभाव अर्कै हुने स्वीकार्छन् । ‘विश्वकपमा राम्रो खेल्ने यसको प्रभाव ठूलो हुन्छ, यो प्रभावलाई हामीले अझ सकरात्मक रूपमा अगाडि बढाउने हो भने नेपाली क्रिकेट अर्कै हुनसक्छ,’ उनले भने, ‘हाम्रो टोलीले पुनरागमन गर्न सक्छ भन्नेमा विश्वास छ । हामी त्यसका लागि सक्षम पनि छौं, समर्थकले धैर्य राख्नु जरुरी छ ।’

तेस्रो पटक विश्वकप खेल्दै गरेको नेपाली टिमको समर्थनमा दर्शकहरू नेपालसहित विभिन्न मुलुकबाट मुम्बई आइपुगेका छन् । नेपालको विभिन्न भागबाट आएकासहित इंग्ल्यान्ड, अस्ट्रेलिया, अफगानिस्तान, ओमानबाट आएका नेपाली दर्शक खेल सुरु हुनु तीन घन्टा अगाडिदेखि नै वानखेडे रंगशालाका बाहिर मरिन ड्राइभमा नाचगानसहित राष्ट्रिय गीत गाएर नेपालको तेस्रो विश्वकप सहभागितालाई पर्व जसरी मनाइरहेका हुन्छन् । नेपालको खेलपछि रंगशालाबाहिर निस्किँदै गरेका दर्शकहरू भन्दै थिए, ‘अब केही दिन नेपालको जर्सी लगाएर मुम्बईमा हिँड्ने स्थिति छैन ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully