लगातार दोस्रो जितबाट बागमती एक खेलअगावै समूह ‘बी’ मा ४ अंक जोड्दै सेमिफाइनल पुगेको हो ।
What you should know
काठमाडौँ — प्याब्सन क्रिकेट लिग (पीसीएल) यू–१५ च्याम्पियनसिपमा शनिबार प्याब्सन बागमती टिम सेमिफाइनल पुगेको छ । लगातार दोस्रो जितबाट बागमती एक खेलअगावै समूह ‘बी’ मा ४ अंक जोड्दै सेमिफाइनल पुगेको हो ।
चार टिम रहेको यो समूहबाट मधेश पनि समान ४ अंकसहित सेमिफाइनलमा पुग्न सफल भयो । आइतबार बागमती र मधेशको खेलले समूह विजेता टुंगो लगाउने छ । २–२ खेलमा जितविहीन सुदूरपश्चिम र प्याब्सन कर्णाली एक खेलअगाडि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।
तल्लो मूलपानी क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको बागमतीले कर्णालीलाई १ सय १६ रनले पराजित गर्यो । प्रतियोगितामा यो सबैभन्दा ठूलो अन्तरको जित हो । बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको विशाल स्कोर खडा गर्यो । प्लेयर अफ द म्याच बागमतीका विशाल ऐरले उत्कृष्ट ब्याटिङ गर्दै ९७ रन जोडे । ६१ बल खेलेका विशालले १३ चौका र १ छक्का प्रहार गरे । सुदूरपश्चिमविरुद्ध पनि विशालले अविजित ६० रन बनाएका थिए । १ सय ५७ रनसहित विशाल सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । केभिन दुल्यालले २८ र रौनक शाहले २६ रन बनाए । बलिङमा कर्णालीका कोशिश बस्नेतले ३ र योगेश आचार्यले २ विकेट लिए ।
जवाफमा कर्णालीले १७.१ ओभरमा अलआउट हुादै मात्र ८० रन जोड्न सक्यो । कर्णालीका सुवास शाही र भूपेन्द्र परियारले १५–१५ तथा विपिन शाहीले ११ रन जोडे । बागमतीका सचिन सुनुवारले ३ र कमल शाहीले २ विकेट हात पारे ।
लुम्बिनीले आयोजक प्याब्सन काठमाडौंलाई ७ रनले हरायो । टोलीको लगातार दोस्रो जित दर्ता गर्यो । पहिलो खेलमा लुम्बिनीले प्याब्सन कोशीलाई ४ विकेटले हराएको थियो । दुई खेलमा काठमाडौंको पहिलो हार हो । अघिल्लो खेलमा काठमाडौंले प्याब्सन गण्डकीलाई १० रनले हराएको थियो ।
टस जितेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रन जोड्यो ।समिरजंग ठकुरीले ४२ बलमा ५ चौकासहित ४५ रन बनाए । जावेद खानले २० र प्रेम गुप्ताले नटआउट १५ स्कोर गरे । २ विकेट पनि लिएका प्रेम प्लेयर अफ द म्याच घोषित भए । काठमाडौंका इन्साव बोहरा र प्रयुश उप्रेतीले २–२ विकेट लिए । लुम्बिनीले अत्तिरिक्तबाट २७ रन पाएको थियो ।
प्रत्युत्तरमा २० ओभरमा ९ विकेट गुमाएको काठमाडौं १ सय १० रनमा समेटियो । ५ चौका प्रहार गरेका सन्दीप साउदले ४३, तपेन्द्र विष्टले १८ र कुशल बीसीले १६ रन जोडे । लुम्बिनीका प्रेमसहित सरिक अली र रिजन बुढाथोकीले २–२ विकेट हात पारे ।
