निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट र त्यसपछि सडेन डेथबाट लिइएको थियो ।
पोखरा — विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै आयोजक सहारा क्लब पोखरामा जारी २५औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको रोमाञ्चक पहिलो क्वाटरफाइनल खेलमा ६ पल्टको च्याम्पियन पुलिसलाई सडेन डेथमा ६–५ ले स्तब्ध पार्दै सहाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट र त्यसपछि सडेन डेथबाट लिइएको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै पुलिसले अग्रता लिएको थियो । ४९औं मिनेटमा पुलिसका राम वाजीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । खेलको ६१औं मिनेटमा सहाराले पेनाल्टीको अवसर पायो, जसमा मुकुन्द निउरेले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछिको निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले केही सुनौला अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
पेनाल्टी सुटआउटमा पनि दुवै टोलीबीच कडा टक्कर देखियो । सुटआउटका क्रममा पुलिसका गोलकर्ता राम वाजीको प्रहार असफल भएको थियो भने सहाराका गोलरक्षक टिकेन्द्र थापा आफैंले प्रहार गरेको पेनाल्टी पनि गोलमा परिणत हुन सकेन ।
खेल सडेन डेथमा पुगेपछि सहाराका गोलरक्षक टिकेन्द्र नायक बने । उनले पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै घरेलु दर्शकलाई खुसी तुल्याए । हारसँगै गोल्डकपमा सर्वाधिक उपाधि उचालेको पुलिस क्लब प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भएको छ ।
सहारालाई सेमिफाइनल पुर्याउन निर्णायक भूमिका खेलेका गोलरक्षक टिकेन्द्र थापा खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । खेल अवधिभर पुलिसका कयौं खतरनाक प्रहारलाई विफल पारेका उनी टोलीको जितका मुख्य आधार बने ।
प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । क्वाटरफाइनलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन् ।
