सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
What you should know
काठमाडौँ — नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेशसहित ५ टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई ५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।
महासचिव श्रेष्ठले यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरी प्रशिक्षणका लागि आवश्यक प्रबन्ध मिलाइने बताइन् । श्रेष्ठले ग्रासरुट तहदेखि नै हक्कीको विकास गर्ने उद्देश्यले विद्यालयमा हक्की विस्तारको अभियानमा संघ क्रियाशील रहेको बताइन् ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दशरथ रंगशालामा पहिलो पटक हक्कीको प्रतियोगिता हुन लागेको हो ।
छनोट गरिएको टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने महासचिव श्रेष्ठले बताइन् । उनका अनुसार एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगिताका लागि टोली सहभागी गराइने छ ।
