एफीएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई शुक्रबार टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
What you should know
झापा — टाइब्रेकरमा रोमाञ्चक जित निकाल्दै सशस्त्र प्रहरी बलको (एपीएफ) फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी सातौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एफीएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई शुक्रबार टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपीएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
एपीएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोकेका थिए ।
झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।
खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपीएफका स्ट्राइकर नवीन लामाले ६७ औं मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट बञ्चित भएको थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।
एपीएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए ।
खेलको 'प्लेयर अफ द म्याच' विजेता टिम एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ ।
