धरान रंगशालामा उपाधिका लागि यसपटक ‘ए’ डिभिजनका दुई सशक्त टोली चर्च ब्वाइज र प्लानिङ ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् ।
What you should know
सुनसरी — धरानमा जारी २६औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनल खेल भोलि शनिबार हुँदैछ । फाइनल खेल खेल्नुअघि नै शुक्रबार दुवै टिम ‘प्रि–म्याच कन्फरेसन’मार्फत आमनेसामने भएका छन् । उक्त अवसरमा दुवै टिमले आफैँले जित्ने दाबी गरेका छन् ।
धरान रंगशालामा उपाधिका लागि यसपटक ‘ए’ डिभिजनका दुई सशक्त टोली चर्च ब्वाइज र प्लानिङ ब्वाइज युनाइटेड आमनेसामने हुादैछन् ।
प्रि–म्याच कन्फरेन्समा दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानले आफैले जित्ने दाबी गरे । उनीहरूले यो केवल उपाधिको प्रतिस्पर्धा नभएर प्रतिष्ठाको बिषय भएको संकेत गरे । चर्च ब्वाइज लय, आत्मविश्वास र ठूलो खेलको अनुभव भएको टिम भएकाले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने प्रशिक्षक सुमन श्रेष्ठले बताए । पछिल्ला सिजनहरूमा ‘ए’ डिभिजन लिगमा निरन्तर प्रभाव छाड्दै आएको चर्च ब्वाइजले आफूलाई दबाब झेल्न सक्ने टोलीका रूपमा स्थापित गरेको छ ।
सेमिफाइनलसम्मको यात्रामा उसले खेलको गति बढाउने, विंगमार्फत आक्रमण विस्तार गर्ने र काउन्टर अट्याकमा तीक्ष्णता देखाएको श्रेष्ठको भनाइ छ । गत वर्ष उपबिजेतामै सिमित बनेको पीडा यसपटक च्याम्पियन बनेर भुलाउने उनले बताए । उनले भने, ‘गत वर्षको उपबिजेता टिम भएकाले पनि यहााको सबै परिवेश हामीले बुझेका छौं, विगतका कमीकमजोरी सच्याएर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा ढुक्क छौं ।’
चर्च ब्वाइजको बलियो पक्ष भनेको ठूलो खेलको मनोविज्ञान हो । फाइनलको वातावरण, हजारौं दर्शकको दबाब र निर्णायक क्षणमा निर्णय लिनसक्ने क्षमता—यी पक्षलेसमेत आफूहरूको प्रदर्शनलाई अग्रता दिन सक्ने कप्तान मिलन राईले बताए । अघिल्ला गोल्डकपहरूमा आयोजक धरान फुटबल क्लबबाट खेल्दै आएका राई पछिल्ला दुई संस्करणयता चर्च ब्वाइजबाट बुढासुब्बा खेल्दै आएका छन् । राईले भने, ‘धरान मेरो होम ग्राउण्ड हो, दर्शकको साथ अवश्य हुन्छ, त्यसैले पनि यसको भरपुर फाइदा लिएर फाइनल जित्नेमा आशावादी छौं ।’
भर्खरै ए डिभिजनमा उक्लिएको एन्फा उपाध्यक्ष दावा लामाको टिम प्लानिङ ब्वाइजको यात्रा योजनाबद्ध देखिएको छ । बुढासुब्बामा पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइजले मिडफिल्डमा बल नियन्त्रण, छोटो पास र खेलको लय नियन्त्रण गर्ने शैली अपनाएको छ । एन्फा हेडअफ कोच समेत रहेका संन्जित सिंहको प्रशिक्षणमा रहेको प्लानिङ ब्वाइज भावनामाभन्दा संरचनामा विश्वास गर्ने टिमको रुपमा चिनिन्छ । सुरुआतदेखि नै खेललाई सन्तुलित राख्दै अवसर कुर्ने रणनीति उसले बुढासुब्बामा अघिल्ला खेलहरूमा लिएको देखिन्छ । आफ्ना केही खेलाडी चोटका कारण घाइते भएको र मुख्य खेलाडी पापाई केवे समेत रेड कार्डका कारण फाइनल नखेल्ने प्रशिक्षक सिंहले बताए । डिफेन्डिङ च्याम्पियन एनआरटीलाई पहिलो खेलमै पराजित गरेकाले खेलाडीको मनोबल उच्च रहेको सिंहको भनाइ छ ।
चोटका कारण आफूले गतिलो प्रदर्शन गर्न नसके पनि खेलाडीहरूलाई मोटिभेसन गरिरहेको प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले बताए । अनुशासित संरचना र रणनीतिक खेलले परिणाम उल्ट्याउन सक्ने क्षमता आफ्नो टिममा रहेको थारुको भनाइ छ ।
जारी गोल्डकपको पहिलो सेमीफाइनलमा प्लानिङ ब्वाइजले पोखराको लालीगुराास एसोसिएसनलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो । प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।
