अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

कोलम्बोमा भएको खेलमा जिम्बाबेले पहिले ब्याटिङ गर्दै प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्यसामु अस्ट्रेलिया १९.३ ओभरमा १ सय ४६ रन बनाएर अलआउट भयो ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — जिम्बाबेले ट्वान्टी-२० विश्वकप २०२६ मा शुक्रबार अस्ट्रेलियालाई २३ रनले स्तब्ध पारेको छ । जिम्बाबेको यो लगातार दोस्रो जित हो । अस्ट्रेलिया भने पहिलो हारबाट गुज्रेको हो ।

समूह सी को कोलम्बोमा भएको खेलमा जिम्बाबेले पहिले ब्याटिङ गर्दै प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्यसामु अस्ट्रेलिया १९.३ ओभरमा १ सय ४६ रन बनाएर अलआउट भयो । 

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ३१ रन बनाए  । म्याट रेनसले ४४ बलमा ६५ रन बनाए । अरु ब्याटरले खासै योगदान गर्न सकेनन् । जिम्बाबेली बलरमध्ये ब्लेसिङ मुजरबानीले ४ र ब्राड इभान्सले ३ विकेट लिए ।

त्यस अगाडि टस हारेर ब्याटिङको लागि ओर्लेको जिम्बाबेले २ विकेट गुमाएर १ सय ६९ रन बनाएको हो । त्यसमा ओपनर ब्रायन बेनेटले ५६ बलमा ६४ रन बनाए । उनले ७ चौका प्रहार गरे । 

यस्तै, अर्का ओपनर टाडिवानासे मारुमनीले ३५ रनको योगदान गरे । रायन ब्रलले पनि ३५ रन जोडे । अर्का नटआउट ब्याटर सिकन्दर राजाले २५ रन बनाए । अस्ट्रेलियालाई बलरमध्ये मार्कस स्टोइनस र क्यामरुन ग्रिनले एक एक विकेट लिए।

कान्तिपुर

Link copied successfully