एनआरटीले गाईघाट फुटबल क्लबलाई ० को विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।
उदयपुर — उदयपुरको गाईघाटस्थित थारुहट रंगशालामा शुक्रबारदेखि सुरु एन्फा महिला च्याम्पियन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा न्युरोड काठमाडौं (एनआरटी )ले विजयी सुरुवात गरेको छ ।
एनआरटीले गाईघाट फुटबल क्लबलाई ० को विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।
खेलको ४७ औं मिनेटमा न्युरोडकी जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरीले पहिलो गोल गरेकी थिइन् । ७९ औं मिनेटमा त्यही टिमकी जर्सी नम्बर ८ कि सुशीला केसीले गोल गरिन् ।
खेलको म्यान अफ द म्याच पहिलो गोल गर्ने प्रतीक्षा भइन् ।
आजको खेल रोचक बनेको थियो ।
फागुन ९ गते फाइनल हुने प्रतियोगिताको उद्घाटन साफका महासचिव पुरुषोत्तम कटेलले गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा भएको प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शीर्ष १० क्लबहरू सहभागी छन् ।
उपाधी विजेतालाई ७ लाख ५ हजार र र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ । जस अनुसार आजबाट गाईघाट क्लब बाहिरिएको छ भने एनआरटी अगाडि बढेको छ ।
भोलिको खेल नेपाल पुलिस क्लब र एफसी रियलबीच हुनेछ ।
अन्य प्रतियोगी टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, आरएस पोखरा, चर्च ब्वाइज युनाइटेड, छहारी वाइसी र संकटा फुटबल क्लब रहेका छन् ।
