आहा–रारा गोल्डकप : पापाको ह्याट्रिकले प्लानिङ ब्वाइज क्वाटरफाइनलमा

नयाँ सिजनका लागि ‘ए’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइजको जितमा फ्रेन्च स्ट्राइकर पापा इबु केबे नायक बने । उनले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने क्रममा तीन गोल गरे । अर्को एक गोल सेनेगलका खेलाडी एलेक्स विलियनको नाममा रह्यो ।

फाल्गुन १, २०८२

दीपक परियार

What you should know

पोखरा — २५औं संस्करणको आहा–रारा पोखरा गोल्डकपमा डेब्यु गरिरहेको प्लानिङ ब्वाइज युनाइटेडले सानदार सुरुआत गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई ४–० को फराकिलो अन्तरले स्तब्ध पार्दै प्लानिङ ब्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो ।

नयाँ सिजनका लागि ‘ए’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइजको जितमा फ्रेन्च स्ट्राइकर पापा इबु केबे नायक बने । उनले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने क्रममा तीन गोल गरे । अर्को एक गोल सेनेगलका खेलाडी एलेक्स विलियनको नाममा रह्यो ।

खेलको सुरुदेखि नै दबाब बनाएको प्लानिङ ब्वाइजले २७औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । साहिल केसीको प्रहारलाई पेनाल्टी एरियाभित्र फ्रेन्ड्सका योगेश गुरुङले ह्यान्ड गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिएका थिए, जसमा एलेक्स विलियन चुकेनन् ।

त्यसपछिको समय पापा इबु केबेको नाममा रह्यो । खेलको ४५ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डरहरूलाई बिट गर्दै पापाले उत्कृष्ट फिनिसिङ गरे । उनले दुईजना डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको फूल भलि प्रहारले जाली हल्लाएको थियो । खेलको ५४औं मिनेटमा गोलरक्षक सरिन जिसीको कमजोरीको फाइदा उठाउँदै उनले बललाई जाली चुमाए । उनले प्रशान्त लक्षम लिम्बुबाट खोसेको बललाई मैदानको मध्य भागबाट सिधैं गोलपोस्टको दिशा दिएका थिए । गोलरक्षक बिट भएको अवस्थामा उनले गरेको लामो प्रहारसँगै अग्रता तेब्बर बन्यो । 


खेलको ८१ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट उनले गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत गर्दै ह्याट्रिक पुर्‍याए । आयुष रानाले उपलब्ध गराएको पास कलेक्ट गर्दै उनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । खेलमा उनी प्लेयर अफ दी म्याच बने । 

खेलको ४२ औं मिनेटमा प्लानिङ ब्वाइजले पाएको फ्रिकिक सदुपयोग गर्न नसक्दा अन्तर दोब्बर बनाउने मौका चुकाएको थियो । एलेक्सको पासमा फ्रेन्डस्का सुदर्शन श्रेष्ठलाई बिट गर्दै अगाडि बल बढाएका इबु केबेलाई गोलरक्षक सरिन जिसीले पेनाल्टी एरिया बाहिर लडाए । केबेलाई खुट्टाले रोक्ने क्रममा लडाएपछि रेफ्रीले पहेलो कार्ड देखाए । गोलरक्षक जिसीको फउलमा पाएको फ्रिकिक इबु केबेले प्रहार गरे पनि गोलमा बदल्न सकेनन् । 

खेल अवधिभर फ्रेन्ड्स क्लबले सम्झनायोग्य प्रहार गर्न सकेन । पेनाल्टीपछि दबाबमा देखिएको फ्रेन्ड्सको रक्षापंक्तिका कमजोरीको फाइदा प्लानिङ ब्वाइजले उठायो । यसअघि काठमाडौंमा जारी राष्ट्रिय लिगमा समेत प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गरेको थियो । धरानको बुढासुब्बा गोल्डकपमा बिहीबार लालीगुराँस एसोसिएसन पोखरालाई २–१ ले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनल प्रवेश गरेको छ ।  

यो जितसँगै प्लानिङ ब्वाइजले अब सेमिफाइनल प्रवेशका लागि विदेशी टोली आभा एफसी (उज्वेकिस्तान) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत शनिबारदेखि क्वाटरफाइनलका खेलहरू सुरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्नेछन् । पुलिस ६ पल्टको उपाधि विजेता हो भने सहाराले एकपल्ट उपाधि आफ्नो पोल्टामा पारेको छ ।

सुरुका तीन खेल फ्लड लाइटमा खेलाए पनि प्रकाशको कमीको कारण देखाउँदै आयोजकले शुक्रबारदेखि दिउँसो ३ बजेबाटै खेल सञ्चालन गरिरहेको छ । 

पोखरामा जारी २५ औं आहा–रारा गोल्डकपअन्तर्गत शुक्रबारको खेलमा प्लानिङ ब्वाइज (हरियो/सेतो जर्सी) र फ्रेन्ड्स क्लबका खेलाडी । ह्याट्रिक गर्न सफल एवं प्लेयर अफ दी म्याच घोषित पापा इबु केबे । तस्बिर सौजन्य : सुदर्शन रञ्जित

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully