अघिल्लो खेलमा नेपालमाथि ४ रनको जित पाएका दुईपल्टको च्याम्पियन इंग्ल्यान्ड भने २ अंकमा सीमित रहेर तेस्रो स्थानमा झरेको छ ।
What you should know
काठमाडौँ — दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजले बिहीबार ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको छ । यससँगै पूर्व विजेता टोली सुपर एटको नजिक पुगेको छ । लगातार दोस्रो जितपछि टोली २ खेलबाट ४ अंक बनाउँदै समूह ‘सी’ को शीर्षमा रह्यो ।
अघिल्लो खेलमा नेपालमाथि ४ रनको जित पाएका दुईपल्टको च्याम्पियन इंग्ल्यान्ड भने २ अंकमा सीमित रहेर तेस्रो स्थानमा झरेको छ । वानखेडे स्टेडियममा जितका लागि १ सय ९७ रन लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमात्र टिकेर १ सय ६६ रनमा अलआउट भयो ।
इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले १४ बलमा ३० र ज्याकोब बेथलले २३ बलमा ३३ रन जोडे । तर उनीहरूले त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् । अलराउन्डर साम करन ३० बलमा ४३ रन बनाएर नटआउट रहे । तर त्यसको खासै धेरै अर्थ रहेन । वेस्ट इन्डिजका बलरमध्ये गुडाकेश मोटी सबैभन्दा सफल रहे । उनले ३३ रनमा ३ विकेट लिए । रोस्टन चेजले २ विकेट हात पारे । त्यसअघि सेरफन रथरफोर्डको सानदार अर्धशतकप्रेरित वेस्ट इन्डिलले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको हो । वेस्ट इन्डिजको सुरुआत भने राम्रो रहेन र टोलीले ८ रन बनाउँदासम्म आफ्ना दुवै ओपनर ब्रान्डन किङ र कप्तान साइ होपलाई गुमाइसकेको थियो । त्यसपछि चर्को दबाबबीच मध्यक्रमले इनिङ्स सम्हाल्ने प्रयास गरेको थियो ।
त्यसमध्ये सिमरन हेटमायरले २३ र रोस्टन चेजले ३४ रन बनाए । रथरफोर्डले ४२ बलमा ७६ रन बनाएर नटआउट रहे । उनले २ चौका र ७ छक्का प्रहार गरे । जेसन होल्डरले उनलाई अन्त्यतिर बलियो साथ दिएर आक्रामक ३३ रन जोडेका थिए । टिम अन्ततः बलियो स्कोर खडा गर्न सफल रह्यो । इंग्लिस बलरमध्ये जेमी ओभरटन र लियाम डावसनले समान दुई विकेट लिए ।
अस्ट्रेलियाको सजिलो जित
अस्ट्रेलियाले बुधबार दोस्रो खेलमा आयरल्यान्डसलाई सजिलै ६७ रनले पराजित गरेको थियो । जितपछि अस्ट्रेलियाको २ अंकसहित समूह ‘बी’ को शीर्षमा पनि उक्लेको छ । आयरल्यान्डको भने यो लगातार दोस्रो हार हो । यसले टोलीको अर्को चरण पुग्ने सम्भावना कमजोर र कठिन बनाएको छ । बलियो उपाधि दाबेदार अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्यसामु आयरल्यान्ड १६.५ ओभरमा १ सय १५ रनमै अलआउट भयो ।
नथान एलिस र एडम जाम्पाले समान ४ विकेट लिए पनि आयरल्यान्ड कमजोर स्कोरमै समेटिएको हो । आयरल्यान्डका जर्ज डकरेलले बनाएको ४१ रन नै व्यक्तिगत ठूलो स्कोर रह्यो । त्यसअघि अस्ट्रेलियाले टस जितेर ब्याटिङको निर्णय गरेको थियो । टोलीले ६ विकेट गुमाएर १ सय ८२ रनको स्कोर खडा गरेको थियो ।
त्यसमा जस इंग्लिसले ३७, क्यामरन ग्रिनले २१, म्याथ्यु रेनसले ३७ र मार्कस स्टोइनसले ४५ रन जोडे । स्टोइनसले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । आइरिस बलरमध्ये मार्क एडाएरले २ विकेट हात पारे ।
सुपर ओभरमा द.अफ्रिका विजयी
दक्षिण अफ्रिका र अफगानिस्ताबीचको पहिलो खेल नाटकीय र रोमाञ्चक बन्यो । दक्षिण अफ्रिकाले सनसनीपूर्ण सुपर ओभरमा अफगानिस्तानलाई हराएको हो । निर्धारित खेलको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गयो । पहिलो सुपर ओभर पनि बराबरी भएपछि दोस्रो सुपर ओभर आवश्यक परेको हो ।
त्यसमा दक्षिण अफ्रिकाले विना विकेट क्षति २३ रन बनायो । त्यसमा तीन छक्का प्रहार गरिएको थियो । जवाफमा अफगानिस्तानले २ विकेटमा १९ रनमात्र बनाउन सक्यो । अफगानिस्तानले पनि तीन छक्का प्रहार गरेको थियो । अफगानिस्तानले पहिलो सुपर ओभरमा ब्याटिङ गर्दै विकेट नगुमाएर १७ रन बनायो ।
त्यसमा २ चौका र १ छक्का सामेल रह्यो । त्यसको जवाफमा दक्षिण अफ्रिकाले पनि एक विकेट गुमाएर १७ रन बनायो । यसपालिको विश्वकपको यो पहिलो सुपर ओभर हो । लगातार दोस्रो जितले दक्षिण अफ्रिकाको समूह ‘डी’बाट सुपर एट पुग्ने सम्भावना बलियो भएको छ । तर अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । टोलीको यो लगातार दोस्रो हार हो ।
यो समूहमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका समान ४ अंकमा छन् । अफगानिस्तान १९.४ ओभरमा १ सय ८७ रनमा अलआउट भएपछि खेल सुपर ओपरमा पुगेको हो । ओपनर रहमनुल्लाह गुरबाजले ४२ बलमा ८४ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । इनिङ्सको अन्त्यतिर नूर अहमदले ९ बलमा दुई छक्कासहित १५ रन बनाएपछि दुवै टिमको स्कोर बराबर भयो । दक्षिण अफ्रिकी बलरमध्ये लुन्गी एनगिडीले २६ रनमा ३ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाले ६ विकेटमा १ सय ८७ रन बनाएको थियो । रायन रिकेल्टनले सर्वाधिक ६१ रन बनाए । उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । क्विन्टन डी ककले ४१ बलमा ५९ रन बनाए । अफगान बलर अजमतुल्लाह ओमरजाईले ३ र रशिद खानले २ विकेट लिए ।
