पीसीएलमा प्याब्सन गण्डकी र मधेश विजयी

गण्डकीले कोशी प्रदेशलाई २४ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा अलआउट हुनुअघि ८७ रन बनायो ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्याब्सन गण्डकी र मधेशले यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा बिहीबार जित पाएका छन् ।

गण्डकीले कोशी प्रदेशलाई २४ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा अलआउट हुनुअघि ८७ रन बनायो । समृद्ध भुसालले १७, तुसार शर्माले १३ र साइडुल्ला अन्सारीले १२ स्कोर गरे । कोशीका म्यान अफ द म्याच दिवस विष्टले ३, लुसेङ गुरुङ र आकाश यादवले २–२ विकेट हात पारे ।

प्रत्युत्तरमा कोशीले १६.३ ओभरमा पूरै विकेट गुमाएर ६३ रन मात्र बनायो । रुसल सुन्दासले १७ र उत्तम राजवंशीले १० रन जोडे । बलिङमा गण्डकीका सुजन अर्याल, अनिश पोख्रेल, सुमिन घर्तीमगर र अनिश भट्टराईले २–२ विकेट लिए ।

तल्लो मूलपानी क्रिकेट मैदानमा प्याब्सन मधेशले प्याब्सन सुदूरपश्चिमलाई ८ विकेटले हरायो । सुदूरपश्चिमले २० ओभरको खेलमा १८ ओभर खेल्दै अलआउट भई ७९ रन जोड्यो । अनिल रावतले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनमा बनाउन सकेनन् । मधेशका म्यान अफ द म्याच खिलराज सर्राफले ४ र दिलराज यादवले ३ विकेट लिए ।

मधेशले ११.५ ओभरमा मात्र २ विकेट क्षतिमा ८२ रन बनाएर जित हासिल पार्‍यो । मधेशका मौसम अन्सारीले नटआउट ४३ र निखिल मण्डल र अनुप कुँवरले १०–१० रन जोडे । सुदूरपश्चिमका अनिल रावतले २ विकेट लिए । प्रतियोगिता काठमाडौं प्याब्सनले आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully