वानखेडे स्टेडियममा आज हुने खेल नेपालका लागि ट्वान्टी-२० विश्वकपमा १२ वर्षयता पहिलो जितका लागि सबैभन्दा राम्रो अवसर हुनेछ ।
What you should know
मुम्बई — नेपालले आज ट्वान्टी–२० विश्वकप २०२६ मा इटालीको सामना गर्नेछ । वानखेडे स्टेडियममा हुने खेल नेपालका लागि ट्वान्टी-२० विश्वकपमा १२ वर्षयता पहिलो जितका लागि सबैभन्दा राम्रो अवसर हुनेछ ।
यसपल्टको विश्वकप नेपाल सहभागी भइरहेको तेस्रो प्रतियोगिता रहेको छ । नेपालले सबैभन्दा पहिले बंगलादेशमा भएको सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा अमेरिकामा भएको विश्वकप खेलेको थियो ।
नेपालले दोस्रोपल्ट विश्वकपमा सहभागिता जनाउँदा एउटै खेल जित्न सकेको थिएन । त्यसैले धेरै हदसम्म नेपालको अमेरिका भ्रमण बिर्सनालायक रह्यो । त्यसको ठिकविपरीत बंगलादेशमा भएको विश्वकपमा नेपालको प्रदर्शन धेरै हदसम्म सानदार रह्यो । नेपाल नेट रेटकै कारणले मात्र दोस्रो चरण पुग्न सफल रहेको थियो । नेपालले पारस खड्काको नेतृत्वमा विश्वकप खेलेको थियो र त्यो पुस्ताका खेलाडीलाई अहिले पनि स्वर्णिम पुस्ता मानिन्छ ।
त्यति बेला पहिलो चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो । आयोजक बंगलादेशविरुद्धको खेल भने नेपालले गुमाएको थियो । लिग चरणको समाप्तिमा बंगलादेश र नेपाल समान अंकमा रहे, दुई जित र एक हारको स्थितिमा । त्यति बेला भाग्यले नेपाललाई साथ दिएको थिएन, तर समूह चरणमा नेपालको त्यही प्रदर्शनका कारण टिमले वान डे मान्यतासमेत पाएको थियो । त्यो आफैमा ऐतिहासिक प्रदर्शन थियो ।
यो प्रदर्शन छेउछाउ पनि नेपालले अमेरिकामा खेल्न सकेको थिएन । नेपालले अहिलसम्म विश्वकपमा कुल सात खेल खेलेको छ । त्यसमध्ये दुई जित रहेको छ भने एक खेलको कुनै नतिजा आएको थिएन । बाँकी खेलमा भने नेपाल पराजित रह्यो, त्यो भनेको चार खेल भयो । त्यसैले पनि नेपाल यति धेरै समयपछि विश्वकपको पहिलो खेल जित्ने आतुर रहनेछ ।
