काठमाडौं किकर्सलाई इन्डो-नेपाल फुटबल उपाधि

प्रतियोगितामा राष्ट्रिय खेलाडी विशाल सुनार, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको समेत सहभागिता थियो ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौं किकर्स फुटबल एकेडेमीले स्वामी दयानन्द सरस्वतीको २०२औं जन्मजयन्तीका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बिहीबार आयोजक डीएभी विद्यालयको मैदानमा भएको फाइनल खेलमा काठमाडौं किकर्सले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउट ६–५ ले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टोलीले ३-३ गोलको बराबरी खेलेका थिए ।

तेस्रो स्थानका लागि मारियो ग्रासरुट स्पोर्टस् क्लब र एजी-१० फुटबल एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै एजी-१० फुटबल एकेडेमी विजयी भई तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा बोलपुर टप क्लबले फेयर प्ले अवार्ड जित्न सफल भयो ।

विधागततर्फ किकर्सका कबिर तामाङ उत्कृष्ट खेलाडी भए । एजी-१० फुटबल एकेडेमीका सिद्धान्त राय सर्वाधिक गोलकर्ता बने भने जावलाखेलका जयन्द्र चौधरी उत्कृष्ट गोलकिपर घोषित भए ।

विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।  प्रतियोगितामा राष्ट्रिय खेलाडी विशाल सुनार, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको समेत सहभागिता थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully