अंग्रेजले इटालीमा फुटबल मात्रै भित्र्याएका थिएनन्, सँगसँगै क्रिकेट पनि लगेका थिए ।
What you should know
मुम्बई — जति बेला नेपालले ट्वान्टी-२० विश्वकप २०२६ मा इटालीको सामना गर्ने समीकरण आयो, धेरेको प्रश्न थियो- क्रिकेटको विश्वकपमा इटाली ?
इटालीको खास परिचय फुटबलमै छ भन्दा हुन्छ । विश्व फुटबलको सबैभन्दा शक्तिशाली र सफल टिममा पर्छ, इटाली । इटाली त्यस्ता धेरै कम देशमा पर्छ, जसले एकभन्दा बढी पटक फुटबलको विश्वकप जितेको छ । इटालीमा फुटबलको इतिहास निकै पुरानो छ, अंग्रेजले फुटबल इटालीमा भित्र्याएका थिए, सन् १९ औं शताब्दीको सुरुतिरै ।
यी अंग्रेजले इटालीमा फुटबल मात्रै भित्र्याएका थिएनन्, सँगसँगै क्रिकेट पनि लगेका थिए । संयोग कस्तो परेको छ भने जति बेला इटाली विश्व फुटबलमा राम्रो प्रदर्शनका लागि संघर्षरत छ, त्यहीँ क्रिकेट भने विकास र विस्तारको क्रममा छ । त्यसैले त हो, यसपल्ट इटालीले विश्वकपमा डेब्युको अवसर पाएको पनि । सन् १९८० मै मात्र इटालीमा त्रिकेट संघ गठन भएको थियो, तर इटालीमा क्रिकेट खेल्न सुरु भएको धेरै अगाडि नै हो ।
इटालीको खेल इतिहासमा सबैभन्दा पुरानो क्लब रहेको छ, जेनोओ । सन् १८९३ मा यसको स्थापना भएको थियो, विश्वास नहुन सक्छ, जसको अहिले पनि पूरा नाम हो, जेनोआ क्रिकेट एन्ड फुटबल क्लब । एसी मिलान त इटालीकै सबैभन्दा लोकप्रिय फुटबल क्लब भयो । सन् १८९९ मा यसको स्थापना भएको बेला यसको नाम थियो, मिलान फुटबल एन्ड क्रिकेट क्लब । यो यही मिलान क्लब हो, जसले सातपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।
अझै पनि त्यहाँ चार हजारको हाराहारीमा दर्ता भएका क्रिकेट खेलाडी छन्, अनि ८० भन्दा बढी क्लब । अहिले भने क्रिकेट ब्युँझिने प्रयासमै हो । त्यसैले त अहिलेको इटालीको टिममा त्यस्ता खेलाडीको बाहुल्य छ, जसमध्ये धेरैलाई इटालीको भाषा बोल्न आउँदैन, अनि धेरैले अहिलेसम्म इटाली देखेकै छैनन् । तर यी खेलाडीको इटालीसँग कुनै न कुनै साइनो भने छ । अहिलेका अधिकांश खेलाडी दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंकाका छन् । तिनका कोही न कोही नातेदार कुनै समय इटालीका थिए ।
