२ अन्डर ६६ सहित समग्रमा ५ अन्डर १ सय ३१ को स्कोरमा रविले पहिलो दिन संयुक्त अग्रता बनाएका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन् ।
What you should know
काठमाडौँ — रवि खड्काले सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दुई स्ट्रोकको एकल अग्रता कायम रहन गरेका छन् । २ अन्डर ६६ सहित समग्रमा ५ अन्डर १ सय ३१ को स्कोरमा रविले पहिलो दिन संयुक्त अग्रता बनाएका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन् ।
आरएनजीसीमा मंगलबार इभन पार ६८ को स्कोर बनाएका रामे मगर समग्रमा ३ अन्डर १ सय ३३ को स्कोरमा दोस्रो स्थानमा झरे । भुवन नगरकोटी ३ अन्डर ६५ स्कोर गर्दा समग्रमा २ अन्डर १ सय ३४ सहित तेस्रो स्थानमा रहे । ३६ होलको समाप्तिमा १ अन्डर १ सय ३५ को स्कोरमा दिनेश प्रजापति र सञ्जय लामा संयुक्त चौथो स्थानमा छन् । दिनेशले१ अन्डर ६७ र सञ्जयले इभन पार ६८ मा खेल टुंग्याए ।
समग्रमा १ ओभर १ सय ३७ बनाएका प्रदीपकुमार लामा छैटौं स्थानमा रहे । उनले २ अन्डर ६६ मा सके । ४ ओभर ७२ को स्कोर कार्ड बनाएका जयराम श्रेष्ठ समग्रमा २ ओभर १ सय ३८ सहित सातौं स्थानमा रहे । समग्रमा ४ ओभर १ सय ४० को स्कोरमा तोरणविक्रम शाही र रमेश अधिकारीले संयुक्त आठौं स्थान रहे । तोरणले २ अन्डर ६६ र रमेशले इभन पार ६८ स्कोर गरे । भुवनकुमार रोक्का समग्रमा ५ ओभर १ सय ४१ सहित दसौं स्थानमा छन् । उनले मंगलबार ५ ओभर ७३ को प्रदर्शन गरे ।
रविले दिनको सुरु इगलबाट गरे । पहिलो होलमा इगलको सफलता पाएका उनले पाँचौं, छैटाौ र आठौं होलमा बर्डी प्रहार गरे । तर दोस्रो, सातौं र नवौं होलमा एक/एक शट खेर फाल्दा फ्रन्टनाइन २ अन्डर ३२ मा सके । यसपछि १० औं होलको बर्डीविरुद्ध ११ औं होलको बोगीले ब्याकनाइन इभन पार ३४ खेले ।
रामेले पहिलो र पाँचौं होलमा बर्डी प्रहार गर्दा चौथो, सातौं र नवौं होलको बोगीले फ्रन्टनाइन १ ओभर ३५ मा सके । यसपछि १२ औं होलमा एक शट खेर फाल्दा १६ र १८ औं होलमा बर्डी प्रहार गरे ।
भुवनले फ्रन्टनाइन २ अन्डर ३२ र ब्याकनाइन १ अन्डर ३३ मा पूरा गरे । उनले पहिलो र दोस्रो होलको बर्डीले फ्रन्टनाइन बोगीरहित खेले । यसपछि १२ र १३ औं होलमा शट जोगाए । तर १८ औं होलमा बोगीको सामना गरे ।
एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा राष्ट्रिय टिमका राहुल विश्वकर्मालाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिए । १ अन्डर ६७ खेलेका फुन्सोकले समग्रमा १ ओभर १ सय ३७ को कार्ड बनाए । लगातार दोस्रो दिन १ ओभर ६९ खेलेका राहुलले समग्रमा २ ओभर १ सय ३८ स्कोर गरे ।
३६ होलको समाप्तिमा १२ ओभर १ सय ४८ स्कोर गरेका १८ प्रो र ८ एमेच्योर खेलाडीले कट बनाएका छन् । प्रोतर्फ कुमार कामी, नेपाल नम्बर एक नीरज तामाङ, धनबहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रामकृष्ण श्रेष्ठ, सुमन परियार र कृष्णमान राजबाहकले कट बनाए । १२ ओभर १ सय ४८ स्कोर गरेका वसन्तराज गुरुङ भने काउन्ट ब्याकमा बाहिरिए ।
एमेच्योरतर्फ महेन्द्र फगामी, स्वप्निल भट्टराई, प्रकृत तामाङ, सरोज थापा, किशोर बस्नेत र प्रज्वल गुरुङले अन्तिम ३६ होलको प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन् ।
