हिसान कप फुटबलको उपाधि सुष्मा गोदावरीलाई

इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा सम्पन्न फाइनल खेलमा सुष्मा गोदावरीले विश्व आदर्श कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

माघ २८, २०८२

अर्जुन सुवेदी

सुनसरी — हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जितेको छ ।

इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा गत वर्षको उपविजेता सुष्मा गोदावरीले विश्व आदर्श कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरको पराजित गर्दै उपाधि जितेको हो । 

निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । निर्धारित समयको १९ औं मिनेटमा विश्व आदर्शका दिनेश गौतमले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा सुष्मा गोदावरीका शिव राईले गोल फर्काएपछि खेल बराबरीमा आयो । बाँकी समय दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । उपाधिसँगै सुष्मा गोदावरीले ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ । उपविजेता बनेको इटहरीको विश्व आदर्शले १५ हजार रुपैयाँ पाएको छ । फाइनल खेलको म्यान अफ द म्याच विश्व आदर्शका दिनेश गौतम भए । उनले १ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुष्मा गोदावरीका शिव राई घोषित भए । उनले सर्वोत्कृष्ट भएबापत ५ हजार रुपैयाँ पाए । उच्च गोलकर्ताको विश्व आदर्शका निमस कार्की भए भने दिप्सन राउत बेस्ट डिफेन्स घोषित भए । सुष्मा गोदावरीका राहुल लिम्बू बेस्ट गोलकिपर, समिर चौधरी बेस्ट मिडफिल्डर, देवराज श्रेष्ठ बेस्ट फरवार्ड घोषित भए । उनीहरूले जनही २-२ हजार रुपैयाँ पाए । 

विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रमुख अतिथि हिसान केन्द्रीय अध्यक्ष युवराज शर्मा, सल्लाहकार लेखनाथ घिमिरे, एन्फा कोशी सहमहासचिव केशव कार्की लगायतले पुरस्कार वितरण गरे । उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजना भएको प्रतियोगिता माघ २३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा सुनसरीका १९ वटा उच्च माविहरूको सहभागिता रहेको हिसान सुनसरीका सचिव सुभाष लुइँटेलले जानकारी दिए । 

अर्जुन

Link copied successfully