बुधबार आयोजित फाइनलमा लालीगुराँस जुनियर ब्वाइज र सत्यसाई सिनियर गर्ल्समा च्याम्पियन बने
काठमाडौँ — साविक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्यसाईले दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
बुधबार आयोजित फाइनलमा लालीगुराँस जुनियर ब्वाइज र सत्यसाई सिनियर गर्ल्समा च्याम्पियन बने । आयोजक जेबी स्कुलको कोर्टमा बुधबार जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलई २२–१७ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । लालीगुराँसका लक्ष्मण बुढाले १३ स्कोर गरे । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तेस्रो भयो ।
सिनियर गर्ल्सको फाइनलमा सत्यसाइले गत उपविजेता फेरिल्यान्डलाई १९–१५ स्कोरले हरायो । सत्यसाईकी आकृति यादवले ८ स्कोर जोडिन् । भ्याली पब्लिक तेस्रो बन्यो ।
जुनियर ब्वाइजमा लक्ष्मण र गर्ल्समा आकृति मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । जुनियर ब्वाइजमा बीएनएका सुप्रिम बस्नेत र गर्ल्समा भ्याली पब्लिककी आकृति बम उत्कृष्ट थ्री प्वाइन्टर चुनिए । जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गर्ल्समा फेरिल्यान्डकी रेनुका तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा स्कोलर्स होम र नेचर तथा सिनियर गर्ल्समा त्रिवेणी सदन अनुशासित टिम ठहरिए । ब्वाइजमा बीएमसीए र गर्ल्समा बेलमोन्ट उदीयमान टिम घोषित भए ।
विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलान, जेबीकी निर्देशक सुजु थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले पुरस्कृत गरे ।
