झापा गोल्डकप : हरिको ह्याट्रिकमा एपीएफ अन्तिम चारमा

खेलको 'प्लेयर अफ द म्याच' एपीएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

What you should know

बिर्तामोड — सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब कप्तान हरि कार्कीको ह्याट्रिक मद्दतले भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोलअन्तरले पराजित गर्दै बुधबार अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

एक पक्षीय बनेको खेल अवधि भर एपीएफले विपक्षीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो ।

खेलको छैटौँ मिनेटमै एपीएफले अग्रता लियो। स्ट्राइकर प्रदीप लामाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको लामो दूरीको सटले सिधै जाली चुमेको थियो। १८औँ मिनेटमा दिपेश धिमालले डिबक्सभित्र मिलाइदिएको पासलाई सदुपयोग गर्दै कप्तान कार्कीले अग्रता दोब्बर बनाए।

२२औँ मिनेटमा समिराज थोकरको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएपछि आएको बललाई कार्कीले जाली चुमाउँदै एपीएफलाई ३–० को सहज स्थितिमा पुर्‍याए। ८३औँ मिनेटमा पुनः रिबाउन्स बलमा अनमार्क रहेका कार्कीले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन्।

भुटानले ७९औँ मिनेटमा पेनाल्टीमार्फत् सान्त्वना गोल फर्कायो। डिबक्सभित्र किन्जाङ तेन्जिङ शेर्पामाथि धिमालले फउल गरेपछि प्राप्त पेनाल्टीलाई शेर्पाले नै गोलमा परिणत गरेका थिए।

एपीएफले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको तेस्रो मिनेटमै धिमालको प्रहार भुटानी गोलकिपरले कठिन मेहनतका साथ बचाएका थिए। १६औँ मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा थोकरको प्रहार भुटानी डिफेन्डरले गोललाइनबाट क्लियर गरेका थिए।

सुरुको २२ मिनेटमै तीन गोल खाएपछि दबाबमा परेको भुटानले २८औँ मिनेटमा अन्तर घटाउने अवसर पाए पनि सोनाम यासे सफल हुन सकेनन्। ७८औँ मिनेटमा जिग्मे सुल्ट्रिमको फ्रिकिक क्रसबारमा लागेर बाहिरिँदा भुटान थप गोल गर्नबाट वञ्चित भयो।

खेलको 'प्लेयर अफ द म्याच' एपीएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम क्वाटरफाइनलमा मछिन्द्र एफसी र एन पेनाङ (मलेसिया)बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully