यू–१५ क्रिकेटमा आयोजक प्याब्सनको विजयी सुरुआत

तल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले १७ ओभरमा छोट्याइएको खेलमा पूरा ओभर खेल्दै ७ विकेट क्षतिमा १ सय ३९ रन बनायो ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — आयोजक प्याब्सन काठमाडौंले यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा बुधबार प्याब्सन गण्डकीलाई १० रनले पराजित गरेको छ ।

तल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले १७ ओभरमा छोट्याइएको खेलमा पूरा ओभर खेल्दै ७ विकेट क्षतिमा १ सय ३९ रन बनायो । काठमाडौंका सम्श्रेय श्रेष्ठले ३५ र कुशल बिसीले ३४ रन बनाए । ५ विकेट लिनुका साथै ६ रन बनाएका काठमाडौंका तपेन्द्र विष्ट प्लेयर अफ द म्याच चुनिए ।

जवाफमा गण्डकी १७ ओभरमा ७ विकेट गुमाएर १ सय २९ रनमा समेटियो । अनिश भट्टराईले अविजित ३४ र तुसार शर्माले २१ रन जोडे ।


अर्को खेलमा प्याब्सन बागमतीले प्याब्सन सुदूरपश्चिमलाई ३ विकेटले हरायो । निर्धारित २० ओभरमा सुदूरपश्चिमले सबै विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । बागमतीले १९.२ ओभरमा ७ विकेट क्षतिमा १ सय १८ रन जोड्यो ।

प्लेयर अफ द म्याच विशाल ऐरले अविजित ६० रन प्रहार गरे । ५५ बलमा विशालले ४ चौका र १ छक्का हाने ।

प्रतियोगिताको राखेप उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याटर र बलरले ५–५ हजार पाउनेछन् । प्लेयर अफ द म्याचले २ हजार पाउने छन् । फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक र सात प्याब्सन प्रदेश गरी ८ छात्र टिम सहभागी छन् ।

कान्तिपुर

Link copied successfully