सीईसी प्रधानमन्त्री कप काठमाडौं छनोट च्याम्पियन

बुधबार सम्पन्न फाइनलमा एक्सिलेन्स सेन्टरले १ सय ३८ रनको फराकिलो जित पाएको हो । पहिले ब्याटिङ गरेको सेन्टरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार गरेको थियो ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले महावीर एथलेटिक्स सेन्टरलाई हराएर प्रधानमन्त्री कप काठमाडौ जिल्ला छनोटको उपाधि जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा एक्सिलेन्स सेन्टरले १ सय ३८ रनको फराकिलो जित पाएको हो ।  पहिले ब्याटिङ गरेको सेन्टरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार गरेको थियो । वीरेन्द्रले ८९ बलमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ्स खेले । बुद्धिमान विष्ट ५९ बलमा ४४ रन बनाएर आउट भए । महावीरका लागि सोनु देवकोटाले ४ र रिजन थापाले २ विकेट लिए ।

२ सय ३० रनको लक्ष्य पछ्याएको महावीर २१.३ ओभरमा ९१ रनमा अलआउट भयो । महावीरका प्रतिश जिशीले ४० बलमा सर्वाधिक ४७ रन जोडे । उत्तम थापा मगरले ८ बलमा ११ रन बनाए । सेन्टरका प्लेयर अफ द म्याच दयानन्द मण्डलले ४ र मोनसान सिंहले ३ विकेट लिए ।

च्याम्पियन एक्सिलेन्स सेन्टरका कप्तान रहेका रित गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए ।  प्रतियोगिताभर १४ विकेट लिएका उपविजेता महावीरका सन्दीप पराजुली उत्कृष्ट बलर भए । प्रतियोगितामा तीन शतकसहित ४ सय ७ रन बनाएका एक्सिलेन्स सेन्टरका कप्तान रित उत्कृष्ट ब्याटर भए भने धिरज देउवा उदीयमान खेलाडी भए ।

यसै प्रतियोगिताको आधारमा प्रधानमन्त्री कप बागमती प्रदेश छनोटमा सहभागी हुने खेलाडी छनोट गरिनेछ । माघ १९ बाट जारी यस प्रतियोगितामा १८ टोलीको सहभागिता थियो ।

कान्तिपुर

Link copied successfully