कप्तान पौडेल भन्छन्– नेपालले बढीभन्दा बढी मौका पाउनुपर्छ

वानखेडे स्टेडियममा रहेको बालासाहेब स्टेडियमको प्रेस रूममा उनले के दाबी गरे भने प्रदर्शन र योग्यताको आधारमा नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सक्षममा छन् ।

माघ २८, २०८२

हिमेश

Captain Poudel says – Nepal should get more opportunities

मुम्बईं — नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मंगलबार वानखेडेमा मिडियासँगको साक्षात्कारमा भनेका छन्, नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा बढीभन्दा बढी मौका पाउनुपर्छ । त्यसपछि त हो, नेपाली टिम वास्तवमै कस्तो छ भनेर देखिने ।

वानखेडे स्टेडियममा रहेको बालासाहेब स्टेडियमको प्रेस रूममा उनले के दाबी गरे भने प्रदर्शन र योग्यताको आधारमा नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सक्षममा छन् । 

ट्वान्टी–२० विश्वकपमा इटालीविरुद्ध खेल्नु एक दिनअगाडि मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘मलाई लाग्छ, अब केही नेपाली खेलाडी आईपीएलका लागि चयन हुनेछन् ।’ इंग्ल्यान्डविरुद्धको पछिल्लो खेलमा नेपालको सानदार प्रदर्शनपछि सबैको ध्यान नेपाली टिममा परेको उनले सुनाए । उनको भनाइ थियो, ‘दुई वर्षअघि विश्वकपमै हामी दक्षिण अफ्रिकाविरुद्ध जितको निकै नजिक थियौं । अहिले इंग्ल्यान्डविरुद्ध त्यस्तै स्थिति रह्यो ।’

उनले दुवै खेलको महत्त्व उस्तै रहेको बताए र भने, ‘मलाई लाग्छ, यी दुवै खेलले विश्व क्रिकेटमा नेपाली क्रिकेटको साख बढाउन सहयोग गरेको छ । दुवै खेलले हामी चर्चामा रह्यौं ।’ यति भन्दाभन्दै उनले नेपालले माथिल्लो स्तरको अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाअनुसार बढी मौका नपाएको गुनासो पोखे । अमेरिकामा भएको ट्वान्टी–२० विश्वकपदेखि अहिले चलिरहेको प्रतियोगितामा नेपालले लगभग ठूला टिमविरुद्ध खेल्न नै पाएको छैन । 

उनको तर्क थियो, ‘पछिल्लो विश्वकपयता हामीले वेस्ट इन्डिजविरुद्ध मात्र खेल्न पायौं । यो नै टेस्ट टिमविरुद्धको एकमात्र सिरिज रह्यो । हामी चाहन्छौं, बढीभन्दा बढी अवसर । हामी के माग गर्छौं भने अबका दिन धेरै होइन, कम्तीमा प्रत्येक वर्ष केही सिरिज टेस्ट टिमविरुद्ध पनि हो ।’ उनले इंग्ल्यान्ड र अस्ट्रेलियाजस्ता ठूला टिमलाई काठमाडौंमा स्वागत रहेको बताए । कप्तान रोहितले भने, ‘मलाई के लाग्छ भने यी ठूला टिम नेपाल आउँछन् भने त्यसको धेरै अर्थ हुनेछ । त्यसले नेपाली क्रिकेटलाई फरक स्तरमा पुर्‍याउने छ ।’ उनले इंग्ल्यान्डविरुद्धको खेलपछि आफ्नो टिम र खेलाडीमा आत्मविश्वास बढेको दाबी गर्दै इटालीविरुद्ध यस्तै राम्रो प्रदर्शनको आवश्यकता औंल्याए । उनले भने, ‘इटाली पनि राम्रो टिम हो, उसले पछिल्लो समय केही राम्रो क्रिकेट खेलिरहेको छ ।’

नेपाललाई सहयोग गर्नुपर्छ : डरेन सामी

Captain Poudel says – Nepal should get more opportunities

डरेन सामीलाई वेस्ट इन्डिज क्रिकेटको पछिल्लो पुस्ताका लिजेन्डरी खेलाडी मानिन्छ । उनको समयको वेस्ट इन्डिज टिम कम्तीमा ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा उत्कृष्टमध्ये एक थियो । तिनै सामी अहिले वेस्ट इन्डिज टिमका मुख्य प्रशिक्षक छन् । उनले नेपालजस्तै एसोसिएट देशले विश्व क्रिकेटमा धेरैभन्दा धेरै मौका पाउनुपर्ने बताएका छन् । केही पूर्वखेलाडी विश्व क्रिकेट केही सीमित देशकै पक्षमा रहेका बेला उनको यो महत्त्वपूर्ण भनाइ अगाडि आएको हो । 

ट्वान्टी–२० विश्वकपको समूह ‘सी’ मा इंग्ल्यान्डविरुद्धको खेलअघि मंगलबार वानखेडे स्टेडियममा मिडियासँग कुराकानी गर्दै सामीले भने, ‘विश्व क्रिकेटलाई बढीभन्दा बढी अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो नै क्रिकेट खेलको विकास र विस्तार हो ।’

नेपाल पनि समूह ‘सी’ मा नै छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा पहिला दुईपक्षीय सिरिजमा सामना गरेको देश वेस्ट इन्डिज नै हो । 

नेपालले वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज २–१ ले जितेको थियो । सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले ट्वान्टी–२० विश्वकप जित्दा सामी नै वेस्ट इन्डिज टिमका कप्तान थिए । सामीले भने, ‘वेस्ट इन्डिज र नेपालमात्र होइन, इंग्ल्यान्ड र नेपाल, अस्ट्रेलिया र नेपालबीचको सिरिज पनि आवश्यक छ । टेस्ट मान्यताप्राप्त टिमले गर्नुपर्ने यही हो, हामीले एसोसिएट देशको क्रिकेट विकासमा आफ्नो योगदान दिनुपर्छ, आफूले सक्दो सहयोगी भूमिका खेल्नु नै पर्छ ।‘ उनको निचोड थियो, विश्व क्रिकेटमा नेपाल मात्र होइन, उदीयमान देशहरूलाई सहयोग र समर्थन गर्नुपर्छ ।

हिमेश

Link copied successfully