नेपालले वानखेडे स्टेडियममा खेलोस् भन्ने गोकुल विष्टको सपना थियो, त्यो ट्वान्टी–२० विश्वकपले पूरा गरिदिएको छ
मुम्बई — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई महिनाअघि ट्वान्टी–२० विश्वकपको खेलतालिका सार्वजनिक गर्दा सम्भवतः सबैभन्दा धेरै खुसी गोकुल विष्ट थिए । किनभने नेपालले मुम्बईको वानखेडे स्टेडियममा समूह चरणको आफ्नो चारै खेल खेल्ने तय भएको थियो ।
विष्ट जन्मेहुर्केको मुम्बईमा नै हो । तर नेपाली क्रिकेटको कुरा आएपछि वानखेडेमा सरोकारवाला सबैले उनीप्रति मुग्ध हुन्छन् । उनको बुवाको पुर्ख्योली घर अछाम हो । पछि उनीहरू कैलाली बसाइँ सरे । पूजापाठ र कूलपूजाका लागि उनीहरू बर्सेनि अछाम पुगेकै हुन्छन् । पछिल्लो दुई दशकयता विष्टको नाम नेपाली क्रिकेटसँग जोडिएर आउँछ । नेपालका प्रशिक्षक जगत टमाटाका दौँतरी हुन् उनी । एकदिन नेपालले वानखेडेमा खेलोस् भन्ने विष्टको सपना थियो, त्यो ट्वान्टी–२० विश्वकपले पूरा गरिदिएको छ ।
खेलतालिका आएदेखि नै उनलाई नेपाली टोली कहिले आएर खेल्ला मनमा हुटहुटी भइरहेको थियो । कौतूहल बढी थियो । इंग्ल्यान्डसँग नेपालले वानखेडेमा विश्वकपको आफ्नो पहिलो खेल खेल्दा विष्ट भावुक हुनु स्वाभाविक नै थियो । तर, नेपालले जसरी खेलेर विश्व क्रिकेटलाई आफ्नो क्षमता देखायो, त्यसमा उनी गर्व गर्छन् । ‘कमाल खेलेको हो नेपालले । ज्यानमा काँडा उम्रिएको थियो खेल हेर्दा । मैले २००७ देखि नै नेपालको खेललाई पछ्याइरहेको छु, त्यसैले नेपालप्रति विश्वास थियो,’ उनले जोसिलो पारामा सुनाए ।
इंग्ल्यान्ड र नेपालबीचको खेलमा १७ हजारभन्दा बढी दर्शक उपस्थित थिए र त्यसमा अधिकांश नेपाली समर्थक थिए । ‘नेपाल मुम्बईको दोस्रो घर हो, भारतबाहेकको खेलमा यत्रो दर्शक मैले देखेको थिइनँ,’ विष्टको अनुभव थियो, ‘२–३ खेलाडीलाई यहाँको ‘ए’ डिभिजन लिग खेलाउने हो भने नेपालको टोली निकै बलियो हुन्छ ।’ शेर मल्लबाट उनी प्रभावित थिए । मिस्ट्री बलर भएकाले शेरको सम्भावना देखिएको तर्क उनी राख्छन् । साधारण बलर टी–२० मा टिक्नै सक्दैनन्, टिक्न नयाँ कुरा ल्याउनै पर्छ, त्यो शेरमा उनले पाए ।
जुनियर स्तरमा प्रतियोगिताहरू राख्ने हो भने नेपाल धेरै माथि आउने उनको ठम्याइ छ । जुनियरमा स्किल सिकेपछि खेल डेभलपमेन्ट गर्ने त माथिल्लो लेभलमा पुगेर हो । वानखेडेसँगै जोडिएको उनको घर छ । ट्वान्टी–२० विश्वकपमा भेन्यु इन्चार्जको रूपमा रहेका उनले घरमै भारत र अमेरिकाबीचको खेल हेरिरहेका थिए ।
आइतबार पहिलो दिनको खेलमा भारत अप्ठ्यारो स्थितिमा पुगेको थियो । भारतले ८० रन बनाउनु अघि नै ६ विकेट गुमाइसकेको थियो । टेलिभिजनतर्फ हेर्दै उनी भन्दैथिए, ‘क्रिकेटमा सबैको सम्भावना उत्तिकै हुन्छ ।’
त्यसपछि मात्र भारतको ब्याटिङ खुल्छ । वानखेडेमा भारतका कप्तान सूर्यकुमार यादवले चौका प्रहार गरेपछिको दर्शकको चिच्याहट विष्टको अपार्टमेन्टमा आएर ठोकिन्छ । त्यसपछि मात्र टेलिभिजनको लाइभ आइपुग्छ । भारतले १ सय ३५ रन बनाएपछि उनले अमेरिकाको सम्भावना कम देखिसकेका थिए, नभन्दै भयो त्यस्तै । नेपालले भोलिपल्ट त्यस्तै प्रदर्शन देखाएको थियो ।
‘२०११ मा मेरै पहलमा नेपाली टोली प्रशिक्षणका लागि मुम्बई आएको थियो । पुबुदु सर र जगत प्रशिक्षक हुनुहुन्थ्यो, त्यतिखेर नेपाली खेलाडी सबैमा वानखेडे भित्र गएर हेर्ने रहर थियो, पारस खड्काले जसरी पनि वानखेडेभित्र गएर हेर्ने व्यवस्था मिलाउन अनुरोध गरेका थिए,’ विष्टले स्मरण गरे, ‘त्यो वर्ष एकदिवसीय विश्वकप आयोजना हुने वर्ष थियो र फाइनल वानखेडेमै थियो, त्यसैले
सुरक्षाको हिसाबले त्यो व्यवस्थापन मिलाउन गाह्रो भइरहेको थियो । मैले मुम्बई क्रिकेट एसोसिएसनका सचिव रत्नाकर शेट्टीलाई फोन गरेर अनुरोध गरेको थिएँ ।’
मैदानमा जान नमिल्ने र स्ट्यान्डबाटै हेर्नुपर्छ भनेपछि नेपाली टाली वानखेडेभित्र छिर्न पाएको थियो । दर्शकदीर्घाबाट नेपाली टोलीले वानखेडे अवलोकन गरेका थिए । ‘त्यतिखेर पारस र नेपाली टोलीले देखेको सपना थियो, अहिले नेपालले वानखेडेमा सबै खेल खेलिरहेको छ,’ विष्टले भने, ‘मलाई त्यतिखेरै लालचन्द राजपुत र सुनिल गावस्कर सरले नेपाली खेलाडीमा ट्यालेन्ट छ, तर तिनीहरूलाई अहिले सहयोग चाहिएको छ भन्नुभएको थियो । जुनै हिसाबमा भए पनि त्यसको १५ वर्षपछि नेपाली टोली ऐतिहासिक वानखेडेमा आइपुगेको छ । यो भाग्य र सपना दुवै हो ।’
त्यतिखेर मैदानमा छिर्न नपाएको नेपाली टोलीलाई आज वानखेडेमा जानबाट कसैले रोक्न नसक्ने स्थिति बनाएकोमा विष्टलाई अझ गर्व लागेको छ । जगत टमाटा पनि विष्टलाई नेपाली क्रिकेटका लागि केही गर्नुपर्यो भनेर झक्झकाइरहन्थे । सन् २००७ मा मुम्बईको स्थानीय टोली लिएर विष्ट नेपाल पुगेका थिए । टोलीले चितवन, पोखरा र काठमाडौंमा म्याचहरू खेलेको थियो । जगत त्यतिखेर पोखरामै थिए । कैलाश प्रधान, स्व. सुदीप पिया, देवेन्द्र प्रजु, सुदीप शर्मा, प्रेम उप्रेतीले मुम्बईको स्थानीय टोली लिएर गएका उनलाई सघाएका थिए ।
त्यसपछि विष्टको नेपालमा टोली लिएर जानेक्रम बढेको थियो । कुनै वर्षमा त उनी तीन पटकसम्म टिम लिएर नेपाल पुग्थे । मुम्बईको टिम लिएर गएपछि नेपाली खेलाडीले प्रतिस्पर्धात्मक खेल खेल्न पाउँछन् भनेर तत्कालीन क्यान अध्यक्ष विनयराज पाण्डेले मैदानको सबै तयारी गरिदिने गरेको उनी स्मरण गर्छन् ।
उनी नेपालले व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डर बनाउनुपर्ने र त्यसका लागि छिमेकी क्रिकेट राष्ट्रहरूसँग नजिकको सम्बन्ध बनाउनुपर्नेमा जोड दिन्छन् । भारत यसका लागि सधैं
तयार रहेको उनको बुझाइ छ । शरद भेषावकर एक पटक यहाँ आएर स्थानीय लिगमा खेलेपछि उनको खेलले रफ्तार लिएको विष्टको दाबी छ ।
सन् २०१५ मा धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई विष्टले नै मुम्बईमा खेल्ने व्यवस्था मिलाइदिएका थिए । ट्वान्टी–२० विश्वकप चलिरहँदा अहिले पनि डीसीएको टोली मुम्बईमै छ । विष्टका छोरा जय पनि रणजी ट्रफी खेल्छन् । विष्ट गरवारे क्लब हाउसका मुख्य प्रशिक्षक हुन् । क्रस मैदान सबेरै पुग्दा उनी प्रशिक्षणमा व्यस्त थिए । आइतबार हुने कस्मपोलिटिएन सिल्डको फाइनलमा उनी केन्द्रित छन् । गत वर्ष गरवारेले प्रेसिडेन्ट कप जितेको थियो । त्यसमा विष्ट उत्कृष्ट प्रशिक्षक बनेका थिए । उनी भन्दै थिए, ‘यो सबै किस्मतको खेल हो ।’
