दक्षिण अफ्रिका र अफगानिस्तान अहमदावादमा भिड्ने छन् भने वानखडे स्टेडियमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचकाे खेल हुने छ।
मुम्बई — उपाधिको बलियो प्रत्यासी रहेको अस्ट्रेलिया बुधबार ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा पहिलो पल्ट मैदानमा उत्रदैछ र उसको खेलसँगै प्रतियोगिता सबै टिमको कम्तीमा एक खेल पूरा हुनेछ ।
अस्ट्रेलियाले कोलम्बोमा हुने समूह बी को खेल आयरल्यान्डको सामना गर्नेछ । आयरल्यान्ड आफ्नो पहिलो खेलमा पराजित रहेको थियो र उसको शून्य अंक छ । यो समूहमा जिम्बावे र श्रीलंका एक एक जितसँगै शीर्ष स्थानमा छन् ।
प्रतियोगिताको पाँचौं दिनको पहिलो खेलमा दुई टेस्ट टिम दक्षिण अफ्रिका र अफगानिस्तान अहमदावादमा भिड्ने छन् । समूह डी को यो खेल अगाडि दक्षिण अफ्रिकाको दुई अंक छ भने अफगानिस्तान शून्य अंकमा छ ।
न्युजिल्यान्ड यो समूहमा दुवै खेल जितेर चार अंकमा शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेलको नतिजाले यो समूहबाट सुपर एट चरण पुग्ने टिमको निर्णय हुन मदत गर्नेछ ।
दिनको तेस्रो तथा अन्तिम खेल मुम्बईको वानखडे स्टेडियमा हुनेछ र त्यसमा भिड्दैछन्, इंग्ल्यान्ड र वेस्ट इन्डिज । यो खेल प्रतियोगिताको लिग चरणको सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एक रहेको छ ।
दुवै टिम आ–आफ्नो पहिलो खेलमा विजयी रहेको थियो । त्यसैले दुवै टिमको दुई दुई अंक छ । यो खेलको नतिजाले पनि यो समूहबाट सुपर–एटमा जाने टिमको निर्णयमा निर्णायक भूमिका खेल्न सक्नेछ ।
नेपाल पनि यसै समूहमा रहेको हुनाले यो खेलको नतिजाप्रति धेरैको उत्सुकता रहनेछ ।
