बुधबार भएको खेलमा मछिन्द्रलाई २–० गोल अन्तरले पन्छाउँदै जावलाखेलले दुई वर्षअघिको नतिजालाई पुनः दोहोर्याएको हो ।
पोखरा — पोखरा रंगशालामा जारी २५औं आहा–रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । बुधबार भएको खेलमा मछिन्द्रलाई २–० गोल अन्तरले पन्छाउँदै जावलाखेलले दुई वर्षअघिको नतिजालाई पुनः दोहोर्याएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि जावलाखेलले खेलभरि मछिन्द्रलाई दबाबमा राखेको थियो । दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भए ।
खेलको ५४ औं मिनेटमा मछिन्द्रका डिफेन्डर सविन घिमिरेले बल क्लियर गर्न नसक्दाको फाइदा जावलाखेलका विदेशी खेलाडी निकोलस हेमिल्टनले उठाए । उनले मछिन्द्रको रक्षापंक्तिलाई बिट गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए ।
खेलको ६६औं मिनेटमा हेमिल्टनकै पासमा अर्का विदेशी खेलाडी बोउबाकर किसोखोले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै जावलाखेलको जित सुनिश्चित गरे । निकोलस हेमिल्टन खेलको प्लेयर अफ दि म्याच घोषित भए । जावलाखेलले ३ फागुनमा चर्च ब्वाइज युनाइटेडसँग क्वाटरफाइनल खेल्नेछ ।
यसअघि दुई वर्षअघि भएको भेटमा पनि जावलाखेलले मछिन्द्रलाई १–० ले पराजित गरेको थियो। यसपल्ट गोल अन्तर फराकिलो भए पनि जितको नायक पुनः विदेशी खेलाडी नै बने ।
जावलाखेल १०औं संस्करणको आहा–रारा गोल्डकपको उपविजेता टोली समेत हो । मंगलबारको उद्घाटन खेल फ्लडलाइटमा खेलाउँदा प्राविधिक असहजता देखिएपछि आयोजक सहारा क्लबले बुधबारको खेल केही समय अगाडि सारेर दिउँसोको उज्यालोमै सम्पन्न गरेको थियो ।
बिहीबारको प्रतिस्पर्धामा विभागीय टोली नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुनेछन् ।
