टाइब्रेकरमा पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले मंगलबार सेमिफाइनल यात्रा तय गरेको हो ।
झापा — चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौं एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
टाइब्रेकरमा पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले मंगलबार सेमिफाइनल यात्रा तय गरेको हो ।
खेल अवधिभर आर्मीले लालीगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका टिकाराज गुरुङ र सुदीप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाएका थिए ।
पहिलो हाफमा विपक्षीको दबाब व्यहोरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आर्मीले खेलको ७९ औं मिनेटमा विपक्षी फोष्टमा सशक्त आत्रमण गरेको थियो । आर्मीका जर्जप्रिन्स कार्कीले प्रहार गरेको पावरफुल सट पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाएका थिए ।
इन्ज्युरी समयमा आर्मीले विपक्षी पोष्टमा निरन्तर आक्रमण गर्यो । जिलेस्पीजंग कार्कीले डिबक्समा अनमार्क रहेको समयमा गरेको प्रहार महतोले विफल बनाए । लगत्तै जर्जप्रिन्सको हेडर क्रस बारमा लागेर बाहिरियो ।
पोखराले भने पहिलो हाफमा आर्मीमाथि दबाब कायम राखेको थियो ।
३० औं मिनेटमा पोखराका मुकुन्दकुमार न्युरोले आर्मीका गोलकिपरसँग वान भर्सेस वान गोल गर्न सकेनन् । ७४ औं मिनेटमा टिकाराज गुरुङले प्रहार गरेको बल गोलकिपरले उत्कृष्ट बचाउ गर्दा खेलमा अग्रता लिने अवसर पोखराले गुमाएको थियो ।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
