यस वर्षको संस्करणलाई रजत जयन्तीका रूपमा विशेष बनाइएको छ भने दर्शक अनुभवलाई नयाँ स्तरमा लैजान फ्लड लाइट प्रयोग गरिएको आयोजकले जनाएको छ ।
What you should know
पोखरा — पोखरामा पहिलोपल्ट सन्ध्याकालीन ‘फ्लड लाइट’मा प्रतिस्पर्धात्मक फुटबल खेलिने भएको छ ।
यही नयाँ प्रयोगसँगै सहारा क्लब पोखराको आयोजनामा हुने आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औं संस्करण आजबाट सुरु हुँदैछ, जसको उद्घाटन खेलमा आयोजक सहारा क्लब र हङकङको गोर्खा इन्टरनेसनल फुटबल क्लब आमनेसामने हुनेछन् ।
पोखरा रंगशालामा सुरु हुने प्रतियोगिता ९ फागुनसम्म चल्नेछ । यस वर्षको संस्करणलाई रजत जयन्तीका रूपमा विशेष बनाइएको छ भने दर्शक अनुभवलाई नयाँ स्तरमा लैजान फ्लड लाइट प्रयोग गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका अधिकांश खेल सन्ध्याकालीन समयमा सञ्चालन गरिनेछ । त्यसका लागि ३५ फिट उचाइको ‘पोर्टेबल फ्लड लाइट’ जडान गरिएको छ । क्लबका अध्यक्ष केशव थापाका अनुसार खेलको पहिलो हाफ प्राकृतिक उज्यालोमै खेलाइनेछ भने दोस्रो हाफमा फ्लड लाइट प्रयोग हुनेछ । यसअघि विराट गोल्डकपमा प्रयोग भइसकेको उक्त फ्लड लाइटको व्यवस्थापन इनरुवाको फूलबारी क्रिकेट क्लबले गर्नेछ । कार्यालय समयपछि खेल सञ्चालन हुँदा दर्शक संख्या बढ्ने अपेक्षा आयोजकको छ ।
'पोखरेली दर्शकका लागि यो नयाँ स्वाद हुनेछ,' अध्यक्ष थापाले भने, 'साथै पोखरा रंगशालामा स्थायी फ्लड लाइट जडानका लागि सरकारलाई दबाब पुगोस भन्ने उद्देश्य पनि हो ।' उनले पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गर्ने अभियानमा गोल्डकपको यो संस्करण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
यसपल्ट प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका तर्फबाट एपीएफ, नेपाल पुलिस, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब सहभागी छन् । अन्तर्राष्ट्रिय टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड (सिक्किम) र हङकङको गोर्खा इन्टरनेसनल मैदानमा उत्रनेछन् ।
पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने दर्शकका लागि दैनिक ‘लक्की ड्र’ र ‘फ्यान अफ दि म्याच’ पुरस्कार पनि राखिएको छ ।
रजत वर्षको अवसरमा सहारा क्लबले राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ प्रदान गर्दैछ । साथै, गोल्डकपलाई २५औं संस्करणसम्म निरन्तरता दिन योगदान पुर्याउने २५ जना व्यक्तित्व तथा संस्थालाई विशेष सम्मान गरिनेछ ।
सम्मानित हुने सूचीमा हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, किरण केसी र रोशन केसी, विक्रम थापा, पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, दीपेन्द्र श्रेष्ठ, मिलन तमु, दिलीप राई, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेमबहादुर गुरुङ, टीकाबहादुर कार्की, सुनिलकुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेमबहादुर गुरुङ, स्व. राजमान थकाली, दीपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।
