नेपाल जस्तो देशले धेरै मौका पाउनु पर्छ : डरेन सामी

वेस्ट इन्डिज टिमका मुख्य प्रशिक्षक डरेन सामीले नेपाल जस्तै एसोसियट देशले विश्व क्रिकेटमा धेरैभन्दा धेरै मौका पाउनु पर्ने मंगलबार बताएका छन् । 

माघ २७, २०८२

हिमेश

A country like Nepal should get more opportunities: Darren Sammy

मुम्बई — सामीले भने, ‘विश्व क्रिकेटलाई बढी भन्दा बढी अन्तर्राष्ट्रियकरण गर्नु पर्छ । यो नै क्रिकेट खेलको विकास र विस्तार हो ।'

ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को समूह 'सी' मा इंग्ल्यान्डविरुद्धको खेल अगाडि वानखेडे स्टेडियममा मिडियासँग कुराकानी गर्दै सामीले भने, ‘विश्व क्रिकेटलाई बढी भन्दा बढी अन्तर्राष्ट्रियकरण गर्नु पर्छ । यो नै क्रिकेट खेलको विकास र विस्तार हो ।'

नेपाल पनि समूह सी नै रहेको छ र नेपालको तेस्रो खेल वेस्ट इन्डिजविरुद्ध रहेको छ । नेपालले ट्वान्टी ट्वान्टी क्रिकेटमा सबैभन्दा पहिला दुई पक्षीय सिरिजमा सामना गरेको देश वेस्ट इन्डिज नै रहेको छ । नेपालले वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज २–१ ले जितेको थियो । सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले ट्वान्टी ट्वान्टी विश्वकप जित्दा सामी नै वेस्ट इन्डिज टिमका कप्तान थिए ।

सामीले अगाडि भने, ‘वेस्ट इन्डिज र नेपाल मात्र होइन्, इंग्ल्यान्ड र नेपाल, अस्ट्रेलिया र नेपालबीचको सिरिज पनि आवश्यक छ । टेस्ट मान्यता प्राप्त टिमले गर्नु पर्ने यही हो, हामीले एसोसियट देशको क्रिकेट विकासका लागि आफ्नो योगदान दिनु नै पर्छ, हामीले आफूले सक्दो भूमिका खेल्नु नै पर्छ,' उनको निचोड थियो, 'विश्व क्रिकेटमा नेपाल मात्र होइन्, उदयमान देशलाई सहयोग गर्नु नै पर्छ ।'

हिमेश

Link copied successfully