२५औं आहा-रारा पोखरा गोल्डकप : सहाराको विजयी सुरुआत

पोखरा पहिलोपटक 'फ्लड लाइट'मा फुटबल खेलाइएको हो । प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् ।

माघ २७, २०८२

दीपक परियार

25th Aha-Rara Pokhara Gold Cup: Sahara off to a winning start

पोखरा — आयोजक सहारा क्लब पोखराले २५औं आहा-रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालामा मंगलबार उद्घाटन खेलमा सहाराले पाहुना टोली गोर्खा इन्टरनेश्नल फुटबल क्लब हङकङलाई १-० ले पराजित गरेको हो ।

दोस्रो हाफको इन्ज्युरी समयमा प्रशन्न श्रेष्ठको निर्णायक गोलको मद्दतले सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेल सकिन २ मिनेट बाँकी रहँदा डिफेन्डर श्रेष्ठले गोलविहीन अवस्थालाई तोड्दै जित दिलाएका हुन् ।

कप्तान आशिष गुरुङको दुईपटकको थ्रो-इनलाई गोर्खा इन्टरनेश्नलका खेलाडीले क्लियर गरेका थिए । लगत्तै पुनः तेस्रो पटकको थ्रो-इन क्लियर गर्ने क्रममा गोर्खा इन्टरनेश्नलका डिफेन्डरले प्रहार गरेको बल कलेक्ट गर्दै श्रेष्ठले मैदानको मध्य भागबाट सेकेन्ड बार च्याप्दै प्रहार गरे । उनको लामो प्रहार विपक्षी गोलरक्षक सन्दिप सिंहले भेउ पाउन सकेनन् । खेलमा उनी 'म्यान अफ दी म्याच' घोषित भए । सहाराले २ फागुनमा विभागीय टोली नेपाल पुलिस क्लबसँग पहिलो क्वाटरफाइनल खेल्नेछ ।

पोखरा पहिलोपटक 'फ्लड लाइट'मा फुटबल खेलाइएको हो । प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् ।

प्रीति राईलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

रजत वर्षको विशेष अवसरमा सहारा क्लबले राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट पुरस्कृत गरेको छ । क्लबले उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । उनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् ।  25th Aha-Rara Pokhara Gold Cup: Sahara off to a winning start

साथै, प्रतियोगितालाई २५औं संस्करणसम्म ल्याउन अतुलनीय योगदान पुर्‍याउने २५ व्यक्ति तथा संस्थालाई समेत क्लबले विशेष सम्मान गरेको छ । सम्मानित हुनेहरूमा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशकहरू प्रकाश केसी, किरण केसी र रोशन केसीसहित विक्रम थापा, पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, दीपेन्द्र श्रेष्ठ, मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेमबहादुर गुरुङ, टीकाबहादुर कार्की, सुनिलकुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेमबहादुर गुरुङ, स्व. राजमान थकाली, दीपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully