आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय 'ए' टिमले सातौं प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगितामा १६ स्वर्ण र ८ कांस्य पदक जित्यो
काठमाडौँ — आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय 'ए' टिमले सातौं प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगितामा १६ स्वर्ण र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी जितेको छ ।
विजेतालाई नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले पुरस्कृत गरे ।
नागार्जुन तेक्वान्दो डोजाङका खुसी तामाङ ११ वर्षमुनि २२ केजी तौल समूहमा, द राइजिङ्ग फाइटर तेक्वान्दो डोजाङ्गका अमृता लामा १४ वर्षमुनि तथा आयोजक विजेश्वरी ज्ञान मन्दिरका नितिका राउत १७ वर्षमुनिको समूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भए । सैनिक श्रीमती संघका अध्यक्ष नीता क्षेत्री सिग्देल सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिन् ।
प्रतियोगितामा २ स्वर्ण, २ रजत जितेको नागार्जुन तेक्वान्दो डोजाङ टिम दोस्रो तथा २ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको द राइजिङ फाइटर तेक्वान्दो डोजाङ टिम टिम तेस्रो भयो ।
प्रधान सेनापति सिग्देलले विद्यार्थी जीवनमा खेलकुदको महत्वसम्बन्धी प्रेरणादायी सन्देश दिएका थिए । विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने नृत्य र तेक्वान्दो डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए ।
