आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राखेपछि त्यसको विरोधमा पाकिस्तानले फेब्रुवरी १५ मा कोलम्बोमा हुने भनिएको लिग चरणको खेल नखेल्ने घोषणा गरेको थियो ।
मुम्बई — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी क्रिकेट बोर्डसँग भारतविरुद्ध ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा हुने खेलमा सहभागी हुने वातावरण तयार पार्न वार्ता सुरु गरेको छ ।
भारतीय मिडियाका अनुसार आईसीसी र पाकिस्तानी बोर्डका पदाधिकारीसँग दुबईमा कुराकानी भइरहेको छ र यसको उद्देश्य पाकिस्तानलाई भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय फिर्ता गराउनु नै रहेको छ ।
आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राखेपछि त्यसको विरोधमा पाकिस्तानले फेब्रुवरी १५ मा कोलम्बोमा हुने भनिएको लिग चरणको खेल नखेल्ने घोषणा गरेको थियो ।
यसले भू राजनीतिको दबाबमा परेको प्रतियोगितामा अझ अन्योलता छाएको हो । पाकिस्तानी सरकारले भारतविरुद्धको खेल बहिस्कार गर्ने भनेर घोषणा गरेपछि बोर्डको तर्फबाट अहिलेसम्म आधिकारिक जानकारी आएको छैन् ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सबैभन्दा बढी आम्दानी हुनेमा पर्छ । यसपल्टको विश्वकपमा यो खेल हुन नसकेको स्थितिमा कम्तीमा पनि ५० करोड डलर भन्दा बढी घाटा हुने अनुमान गरिएको छ ।
यसले आईसीसीको टेलिभिजन प्रशारण बिक्री अनुबन्धमा पनि ठूलो धक्का पर्ने जनाइएको छ । आईसीसी वार्ताकै माध्यमबाट यो समस्याको समाधान चाइरहेको छ ।
