२०औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ विधामा स्पर्धा

३० देशका १० हजार धावक दौडिँदै

माघ २६, २०८२

दीपक परियार

What you should know

पोखरा — पोखरामा २ फागुनमा आयोजना हुने २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा यसपल्ट २१ वटा विधामा प्रतिस्पर्धा हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जानकारी गराएको हो ।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले यस वर्ष ७ वटा नयाँ विधा थप गरिएको बताए । ‘पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउन र खेलकुद पर्यटन प्रवर्द्धन गर्न हामी लागिपरेका छौँ,’ उनले भने, ‘यो वर्ष हामीले समावेशिताका साथ २१ विधामा प्रतिस्पर्धा गराउन लागेका छौं ।’

प्रतियोगितामा ३ हजार ५ सय ६ जना धावक दर्ता भइसकेका छन् । यसमा खुला पुरुष म्याराथन (४२.१९५ किमी) मा २१ विदेशीसहित १ सय ५१ जना, हाफ म्याराथन महिलामा ८ विदेशीसहित १ सय ९० जना र हाफ म्याराथन पुरुषमा ८ विदेशीसहित १ सय ८८ जना सहभागी हुनेछन् ।

त्यस्तै, १० किमि पुरुषमा ७ विदेशीसहित २ सय ७ जना, १० किमी महिलामा ६ विदेशीसहित ८६ जना, ५ किमी छात्रतर्फ १ हजार ६ सय ५० र छात्रातर्फ ४ सय ७५ जना रहेका छन् । रन फर फनमा करिब ६ हजार ७ सयजनाको सहभागिता हुने अनुमान गरिएको छ । यसरी कुल मिलाएर करिब १० हजार २ सय ६ जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यसपल्ट खुल्ला म्याराथन ४२.१९५ किमी, नेपाल राष्ट्रस्तरीय खुल्ला म्याराथन ४२.१९५ किमी, गण्डकी प्रदेशस्तरीय खुल्ला म्याराथन ४२.१९५ किमी, ४५+ म्याराथन ४२.१९५ किमी, २१.०९७ किमी हाफ म्याराथन महिला/पुरुष, ४५+ पुरुष हाफ म्याराथन, महिला/पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्रछात्रा ५ किमी दौड हुनेछन् ।

यस्तै, ४५+ भेट्रान्स महिला ५ किमी दौड, ५०+ भेट्रान्स पुरुष ५ किमी दौड, ५ किमी खुल्ला महिला (१७–४४), ५ किमी खुल्ला पुरुष (१७–४९), ५ किमी कर्पोरेट महिला/पुरुष दौड हुनेछन् । साथै ‘रन फर फन’ दौड पनि आयोजना हुनेछ ।

आयोजकले यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेता प्रतियोगीलाई नगद १९ लाख ८९ हजार  वितरण गर्ने जानकारी दिएको छ । म्याराथनमा पहिलो हुनेले ४ लाख रुपैयाँ, दोस्रो हुनेले २ लाख रुपैयाँ र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । चौंथोदेखि आठौंसम्मलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस वर्षदेखि दौड पूरा गर्ने सम्पूर्ण खेलाडीलाई फिनिसर मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालमा आयोजना हुने विभिन्न म्याराथनमध्ये पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसियसन अफ इन्टरनेस्नल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) मा दर्ता रहेको छ । पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणीकरण भइसकेको छ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथन अमरसिंहचोक, मियापाटन, माटेपानी, फुलबारी, बगर, विन्ध्यवासिनी, अर्चलबोट, मालेपाटन, जिरो किमी, हल्लनचोक, खहरे, खपौंदी हुँदै फेवाताल पारी घाँटीछिना पुगेर पुनः त्यहाँबाट फर्किएर बाराहीघाट मैदानमा सकिन्छ । 

मञ्चका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपाली म्याराथनमध्ये एकमात्र प्रविधिमैत्री म्याराथन हो । यस संस्थाले विगत तीन वर्षदेखि चिप्सको प्रयोग गर्दै आएको छ । चिप्सको प्रयोग गरी खेलाडीको दौडको समय सेन्सर मेसिनको माध्यमबाट निर्धारण गरिन्छ ।

पोखरा म्याराथनले आफ्नो स्थापनाकालदेखि नै समावेशितालाई ध्यानमा राखी हरेक वर्ष म्याराथनभन्दा एक साताअघि ह्विलचियर र दृष्टिविहीन दौड गर्दै आएको छ । यस वर्षको कार्यक्रम २४ माघमा सम्पन्न भइसकेको छ । प्रतियोगितामा लक्ष्मी ग्रुपअन्तर्गत सफल डेरीले ०७२ देखि हालसम्म अनवरत रूपमा मुख्य प्रायोजन गरिरहेको छ ।

मञ्चको स्थापनाको २५ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘१२ महिना १२ कार्यक्रम’ घोषणा गरी रजत महोत्सव कार्यक्रम मनाइरहेको छ । यसै सन्दर्भमा पोखरामा दौड संस्कृतिको विकास गरी पोखरेलीको मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले विगत गत वर्षको पुसदेखि विद्यार्थीको मासिक ५ किमी दौड सञ्चालन गरिरहेको छ ।

अध्यक्ष गुरुङले भने, ‘यो म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र होइन, यो सहरकै उत्सव हो । हामी यसलाई महोत्सवमा परिणत गर्न चाहन्छौं ।’ रजत महोत्सवको समापन समारोह आगामी ८ वैशाख ०८३ मा स्मारिका प्रकाशन र नेपाली खेलकुद विकासमा योगदान पुर्‍याउने २ जनालाई राष्ट्रिय खेलकुद पुरस्कार घोषणा गरी १ लाख रुपैयाँसहित सम्मानपत्र र पदक वितरण गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा ७ दिन, ७ प्रदेश, ७ म्याराथनका परिकल्पनाकार एवं नेपाल रन यूकेका परिकल्पनाकार सन्तोष राईले पोखराको खेल पर्यटन प्रवर्द्धनमा पोखरा म्याराथनले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । धावक सन्तोषी श्रेष्ठले पोखरा म्याराथनमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन् । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully