ट्वान्टी–२० विश्वकपको पहिलो दिन भारत, पाकिस्तान र वेस्ट इन्डिजलाई सफलता
What you should know
मुम्बई — कप्तान सूर्यकुमार यादवको उत्कृष्ट ८४ रनप्रेरित भारतले ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिकामाथि २९ रनको जित निकालेको छ । वानखेडे स्टेडियममा समूह ‘ए’ को खेलमा भारत एक समय चर्को दबाबमा रह्यो र सम्भावित हारको सम्भावनाबाट गुज्रिएको थियो । तर अन्त्यमा भारत सहज देखिने जित आत्मसात् गर्न सफल भयो । यससँगै डिफेन्डिङ च्याम्पियनको उपाधि रक्षा अभियान सुरु भएको छ ।
पहिले ब्याटिङ निम्तो पाएको भारतले कमजोर सुरुआतलाई ओझेलमा पार्दै ९ विकेटमा १ सय ६१ रन बनाएको थियो । भारतले एक समय ७७ रन बनाउँदासम्म ६ विकेट गुमाएर कमजोर स्थितिमा थियो । त्यहींबाट कप्तान सूर्यकुमारले इनिङ्स सम्हाले र ४९ बलमा ८४ रन बनाए । त्यसमा १० चौका र ४ छक्का सामेल थियो । सहआयोजक देश भारतका लागि तिलक बर्माले २५ र इशान किसनले २० रन बनाए । भारतीय ब्याटिङक्रम ध्वस्त पार्न स्याड्ली भ्यान स्कालक्विकले प्रमुख भूमिका खेले ।
उनले २५ रन दिएर ४ विकेट लिए । त्यसमध्ये एकै ओभरमा चार विकेटको प्रदर्शन थियो । जवाफमा एसोसिएट देश अमेरिकाले ८ विकेट गुमाएर १ सय ३२ रनमात्र बनाउन सक्यो । अमेरिकाको सुरुआत राम्रो रहेन । सञ्जय कृष्णमूर्तिले ३७ रन, शुभम रञ्जनले पनि ३७ रन जोडे । मिलिन्द कुमारले ३४ रनको योगदान गरे । भारतीय बलरमध्ये मोहम्मद सिराजले २९ रन खर्चेर ३ विकेट लिए । असरदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए ।
वेस्ट इन्डिज–स्कटल्यान्ड
रोमारियो सेफर्डको ह्याट्रिक विकेटको सहयोगमा दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजले शनिबारै अर्को खेलमा स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकाल्यो । कोलकाताको इडेन गार्डेनमा जितका लागि १ सय ८३ रनको लक्ष्य पाएको स्कटल्यान्ड १८.५ ओभरमा १ सय ४७ रनमै अलआउट भयो । वेस्ट इन्डिज जितको नायक रहेको सेफर्डले १७ औं ओभरमा ४ विकेट लिए । समग्रमा उनको प्रदर्शन २० रनमा ५ विकेट रह्यो ।
यसपल्टको विश्वकपमा यो पहिलो
ह्याट्रिक विकेट हो । ट्वान्टी–२० विश्वकपमा भने यो दसौं ह्याट्रिक हो । बंगलादेशको स्थानमा अन्तिम क्षणमा विश्वकप खेल्ने मौका पाएको स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले २४ बलमा ४२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । टम ब्रुस २८ बलमा ३५ रन बनाएर आउट भए । वेस्ट इन्डिजका अन्य बलरमध्ये जेसन होल्डरले ३० रनमा ३ विकेट लिए ।
यो जितले वेस्ट इन्डिजको समूह ‘सी’ मा २ अंक भएको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले सिमरन हेटमायरको ६४ रनमा ५ विकेट गुमाई १ सय ८२ रन बनायो । हेटमायरले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गरे । ब्रेन्डन किङले ३५, रभमन पावेलले २४ र सेरफन रदरफोर्डले २६ रनको योगदान गरे । स्कटिस बलर ब्राड करीले २३ रनमा २ विकेट लिए ।
पाकिस्तान–नेदरल्यान्ड्स
पाकिस्तानले उद्घाटन खेलमा प्राप्त गरेको जित संघर्षपूर्ण रह्यो । टोलीले कोलम्बोको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट ग्राउन्डमा नेदरल्यान्ड्सलाई तीन बल बाँकी छँदा ३ विकेटले पराजित गरेको हो । भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको पाकिस्तानका लागि यो जितमा प्राप्त २ अंकले ठूलो राहत दिनेछ । टस जितेर पाकिस्तानले बलिङ गर्ने निर्णय गरेको थियो ।
त्यसक्रममा नेदरल्यान्ड्सले १९.५ ओभरमा अलआउट हुनु अगाडि १ सय ४७ रन बनाएको थियो । स्कट एडवार्डले २९ बलमा ३७ रन बनाए । बास डे लिडले ३० रन बनाए । अरू ब्याटरले खासै योगदान दिन सकेनन् । पाकिस्तानी बलरमध्ये सलमान मिर्जाले २४ रनमा ३ विकेट लिए । जवाफमा पाकिस्तानले ओपनर साहिबजादा फरहानको ४७ रनको सहयोगमा १९.३ ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
उनको विकेटसँगै पाकिस्तान एक समय ३ विकेट गुमाएर ९८ रनको स्थितिबाट १०० रन बनाउँदा ५ विकेटको स्थितिमा पुगेको थियो र टिम दबाबमा देखिएको थियो । इनिङ्सको अन्त्यतिर फाहिम असरफले ११ बलमा २९ रन बनाए र यो नै जितका लागि निर्णायक साबित भयो । उनले २ चौका र ३ छक्का प्रहार गरे । लोगन भान विकको १९ औं ओभरमा असरफले २४ रन बटुलेर खेल आफ्नो पक्षमा पारेका थिए ।
