प्रिती राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’, रजत जयन्तीमा २५ व्यक्तित्व र संस्थालाई सम्मान गरिने
What you should know
पोखरा — सहारा क्लब पोखराको आयोजनामा हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा पोखरा गोल्डकपको २५औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
आगामी २७ माघदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र हङकङको गोर्खा इन्टरनेस्नल फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
यस वर्षको प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाउँदै छन् । जसमा नेपालका स्थापित क्लबहरू एपीएफ, नेपाल पुलिस, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब रहेका छन् । अन्तर्राष्ट्रिय टोलीको आकर्षणका रुपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र हङकङको गोर्खा इन्टरनेस्नल मैदानमा उत्रने तय भएको छ । प्रतियोगिता ९ फागुनसम्म चल्नेछ ।
अधिकांश खेलहरू सन्ध्याकालीन समयमा फ्लडलाइटमा खेलाउने आयोजकले जनाएको छ । सन्ध्याकालीन खेल खेलाउन ‘पोर्टेबल फ्लड लाइट’ जडान गर्न लागिएको हो । क्लबका अध्यक्ष केशव थापाका अनुसार खेलको पहिलो हाफ उज्यालोमै खेलाइनेछ भने दोस्रो हाफमा मात्रै फ्लड लाइट प्रयोग हुनेछ । अस्थायी फ्लड लाइड ३५ फिट उचाइको छ । यसअघि विराट गोल्डकपमा समेत उक्त फ्लड लाइट राखिएको थियो । फ्लड लाइटको व्यवस्थापन इनरुवाको फूलबारी क्रिकेट क्लबले गर्छ ।
कार्यालय समयपछि खेल हुने भएकोले दर्शक संख्या वृद्धि हुने आयोजकको अपेक्षा छ । ‘पोखरेली दर्शकका लागि यो नयाँ स्वाद पनि हुनेछ,’ अध्यक्ष थापाले भने, ‘सरकारलाई पनि पोखरा रंगशालामा स्थायी फ्लड लाइट राख्न दबाब पुगोस् भन्ने पनि उद्देश्य हो ।’
प्रतियोगिताको तयारी र उद्देश्यबारे प्रकाश पार्दै सहारा क्लबका अध्यक्ष केशव थापाले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउने अभियानमा यो संस्करण कोशेढुंगा सावित हुने बताए । ‘हामीले खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं भन्ने मूल मर्मका साथ विगत २५ वर्षदेखि निरन्तर यो यात्रा जारी राखेका छौं,’ उनले भने, ‘रजत जयन्तीको यो अवसरमा हामीले खेलको गुणस्तर र दर्शकको सुविधालाई ध्यानमा राखेर विशेष तयारी गरेका छौं । यसले नेपाली फुटबलको विकासमा मात्र नभई पोखराको पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ ।’
प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । यसपल्टको विजेताले नगद १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक खेलको ‘म्यान अफ दि म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफीको व्यवस्था गरिएको छ भने दर्शकहरूका लागि पनि दैनिक भाग्यशाली दर्शक र फ्यान अफ दि म्याच पुरस्कार राखिएको छ ।
रजत वर्षको विशेष अवसरमा सहारा क्लबले राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट पुरस्कृत गर्ने घोषणा गरेको छ । साथै, प्रतियोगितालाई २५औं संस्करणसम्म ल्याउन अतुलनीय योगदान पुर्याउने २५ जना व्यक्तित्व तथा संस्थालाई विशेष सम्मान गरिने कार्यक्रम छ ।
सम्मानित हुनेमा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशकहरु प्रकाश केसी, किरण केसी र रोशन केसीसहित विक्रम थापा, पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, दीपेन्द्र श्रेष्ठ, मिलन तमु, दिलीप राई, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेमबहादुर गुरुङ, टीकाबहादुर कार्की, सुनिलकुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेमबहादुर गुरुङ, स्व.राजमान थकाली, दीपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।
