अफगानिस्तानमाथि न्युजिल्यान्डको प्रभावशाली जित

चेन्नाईमा भएको खेलमा प्राप्त यो जितपछि न्युजिल्यान्ड २ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

New Zealand's impressive win over Afghanistan

मुम्बई — न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ को समूह ‘डी’ को पहिलो खेलमा आइतबार अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

चेन्नाईमा भएको खेलमा प्राप्त यो जितपछि न्युजिल्यान्ड २ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । टेस्ट प्रतिद्वन्द्वीमाथि प्राप्त यस जितले न्युजिल्यान्डलाई उत्साहित राख्नेछ र सुपर एटमा प्रवेशका लागि बलियो प्रत्यासी बनाएको छ ।  

जितका लागि १ सय ८३ रन पछ्याएको न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको हो । त्यसमा ओपनर टिम सेइफर्टले ४२ बलमा ६५ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गर्दै जितको आधार तयार पारे । यस्तै ग्लेन फिलिप्सले ४२ र मार्क च्यापमनले २८ रन जोडे । अफगान बलरमध्ये मुजिब रहमानको नाममा २ विकेट रह्यो ।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यस क्रममा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । यसमा सबैभन्दा बढी योगदान गुलबद्दिन नइबको रह्यो । उनले ३५ बलमा ६३ रन बनाए । तेस्रो क्रममा ब्याटिङ गर्दै उनले ३ चौका र ४ छक्का प्रहार गरे । सेदिकुलह अटलले २९ र ओपनर रहमनुल्लाह गुरबाजले २७ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये लोकी फगुर्सनले ४० रनमा दुई विकेट लिए ।

कान्तिपुर

Link copied successfully