ट्वान्टी-२० विश्वकपमा शेरको स्वर्णिम डेब्यु

इंग्ल्यान्डविरुद्धको खेलमा आफ्नो पहिलो खेलको पहिलो बलमै उनले फिल सल्टको विकेट लिएका हुन् । 

माघ २५, २०८२

विनोद पाण्डे

मुम्बई — अफ स्पिनर शेर मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा स्वर्णिम सुरुवात गरेका छन् । ट्वान्टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्धको खेलमा आफ्नो पहिलो खेलको पहिलो बलमै उनले फिल सल्टको विकेट लिए । 

दुई महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सर्वाधिक संयुक्त १७ विकेट लिएपछि शेरले नेपाली टोलीको ढोका खोलेका थिए । खेलको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका उनले सल्टलाई सर्ट फाइन लेगमा सन्दीप लामिछानेबाट क्याच गराए । 

सल्टले फ्लिक गर्न खोजेको बल टप एज लागेर क्याच गएको थियो । तर त्यसपछि आएका ज्याकोब बेथलले उनलाई दुई छक्का र एक चौका प्रहार गरे । आफ्नो ‘डेब्यु’ ट्वान्टी–२० अन्तर्राष्ट्रियको पहिलो बलमै विकेट लिने उनी नेपालका दोस्रो खेलाडी हुन् । पारस खड्काले २०१४ को विश्वकपमा हङकङविरुद्ध पनि पहिलो बलमै विकेट लिएका थिए । पारसले नै आइतबार वानखेडे रंगशालामा शेरलाई ‘डेब्यु’ क्याप दिएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully