वानखेडेमा नेपालसामु इंग्ल्यान्डको चुनौती

परम्परागत रूपमा वानखेडे ठुलो स्कोरका लागि परिचित छ । ट्वान्टी–२० मा यहाँको औसत स्कोर नै १ सय ९४ रनको छ ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — इंग्ल्यान्डले शुक्रबार साँझ वानखेडे क्रिकेट रंगशालामा अभ्यास गरेको थियो । इंग्लिस ब्याटरले प्रहार गरेको लामा शटहरू दर्शकदीर्घामा पुगेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकपको आइतबार नेपालविरुद्धको हुने खेलअघि इंग्ल्यान्डको यो तयारी थियो । 

परम्परागत रूपमा वानखेडे ठुलो स्कोरका लागि परिचित छ । ट्वान्टी–२० मा यहाँको औसत स्कोर नै १ सय ९४ रनको छ । पछिल्लो पटक भारतले यहाँ खेल्दा इंग्ल्यान्डविरुद्ध ९ विकेट गुमाई २ सय ४७ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्ड १०.३ ओभरमा ९७ रनमा अलआउटको स्थिति थियो ।

त्यसयता इंग्ल्यान्डले ह्यारी ब्रुक्सको कप्तानीमा ट्वान्टी–२० मा अविश्वसनीय प्रदर्शन गर्दै आएको छ र थोरैमात्र खेल गुमाएको छ । यसले इंग्ल्यान्डलाई प्रबल दावेदार बनाएको छ । फ्ल्याट विकेट र सानो बाउन्ड्री लाइनका कारण इंग्ल्यान्डको विकेट ब्याटिङका लागि स्वर्गजस्तै छ । मात्र साँझका खेलहरूमा शीतको प्रभावले बलर हाबी हुनसक्ने सम्भावना पनि छ ।

इंग्ल्यान्डले अभ्यास गरिरहँदा स्पिनरहरूले घाँसे विकेटमा मज्जाले बल घुमाइरहेका थिए । यो संकेतले नेपाललाई आशा दिएको थियो । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, शेर मल्ल रहेका कारण नेपालको स्पिन क्षेत्रमा अलिक ढुक्क हुने स्थिति छ ।

तर, इंग्ल्यान्डले आफ्नो स्वभावअनुसार खेल्दै लय समाउने हो भने नेपालले अतिरिक्त प्रयास गर्नुपर्नेछ । इंग्ल्यान्डसँगको खेल नेपालले दिउँसो नेपाली समयअनुसार ३ बजे खेल्ने भएकाले ब्याटरको प्रभाव अझ पर्नसक्छ ।

‘हामी यहाँ पूर्ण आत्मविश्वास र भरोसासाथ आएका छौं र जुन निकै महत्त्वपूर्ण छ, तर त्यसले केही निश्चित गर्दैन,’ इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले शुक्रबार प्रेस कन्फ्रेन्समा भने, ‘यस विश्वकपमा खेल्ने टोली सबै राम्रा छन् भन्ने हामीलाई थाहा छ । यदि हामी नकआउटमा पुग्यौं भने अझ जटिलता अगाडि आउने छ । सबैलाई थाहा छ, भारतीय भूमिमा भारत नै दाबेदार हो र उनीहरूलाई पराजित गर्न निकै कठिन हुनेछ ।’

ज्याक्सले नेपाल पनि विश्व क्रिकेटमा माथि आइरहेको राष्ट्र भएको सुनाए । ‘नेपालको क्रिकेटबारेमा हामी जानकार छौं, नेपाल एउटा उदयीमान राष्ट्र हो । ट्वान्टी–२० विश्वकपको दायरा फराकिलो बनाउँदा नेपाललगायतका राष्ट्रले अवसर पाइरहेका छन्,’ ज्याक्सले भने । 

चेन्नईमा दुई अभ्यास खेल खेल्दै शुक्रबारमात्र नेपाली टोली मुम्बई आइपुगेको हो । शनिबार राखिएको नेपालको प्रशिक्षण रद्द गरिएको थियो । नेपाल आइतबार सोझै वानखेडेमा ओर्लिने छ । चेन्नईमा दुई अभ्यास 

खेलका क्रममा दीपेन्द्रसहित आरिफ र आसिफ शेखले अर्धशतक बनाएका थिए भने सन्दीप जोराले ठोस इनिङ्स खेलेका थिए । तर जोफ्रा आर्चर, जोस टङको बल सामना गर्नु नेपाली ब्याटरलाई त्यति सजिलो हुने छैन । कप्तान रोहित पौडेल, कुशल भुर्तेलसहितको नेपाली ब्याटिङका लागि यो निकै चुनौतीपूर्ण विषय हो । नेपाल र इंग्ल्यान्ड पहिलो पटक खेल्न लागेका हो । ब्रुक्ससहित इंग्ल्यान्डका ब्याटर जोस बटलर, बेन डकेट, फिल साल्ट ब्याटिङमैत्री वानखेडे स्टेडियममा विकेटको फाइदा उठाउने दाउमा छन् ।

विश्वकपमा आजका खेल

अफगानिस्तानविरुद्ध न्युजिल्यान्ड (११ः१५ बजे)

नेपालविरुद्ध इंग्ल्यान्ड (१५ः१५ बजे)

श्रीलंकाविरुद्ध आयरल्यान्ड (१९ः१५ बजे)

कान्तिपुर

Link copied successfully