पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ बलको खेल बाँकी छँदा ३ विकेटले पराजित गरेको हो ।
काठमाडौँ — पाकिस्तानले ट्वान्टी-२० विश्वकप २०२६ मा शनिबार समूह ‘ए’ को खेलमा संघर्षपूर्ण विजयी सुरुआत लिएको छ ।
कोलम्बोको सिंहाली स्पोर्टस् क्लब क्रिकेट ग्राउन्डमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ बलको खेल बाँकी छँदा ३ विकेटले पराजित गरेको हो । भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको पाकिस्तानका लागि यो जितमा प्राप्त २ अंकले ठूलो राहत दिनेछ ।
टस जितेर पाकिस्तानले पहिले बलिङको निर्णय गरेको थियो र त्यस क्रममा नेदरल्यान्ड्सले १९.५ ओभरमा अलआउट हुन अगाडि १ सय ४७ रन बनाएको थियो । त्यसमा स्कट एडवार्डले २९ बलमा ३७ रन बनाए । यस्तै बास डे लिडले ३० रन बनाए । अरू ब्याटरले खासै योगदान दिन सकेनन् । पाकिस्तानी बलरमध्ये सलमान मिर्जाले २४ रनमा ३ विकेट लिए ।
जवाफमा पाकिस्तानले ओपनर साहिबजादा फरहानको ४७ रनको मद्दले १९.३ ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उनको विकेटसँगै पाकिस्तान एक समय ३ विकेट गुमाएर ९८ रनको स्थितिबाट सय रन बनाउँदा ५ विकेटको स्थितिमा पुगेको थियो र टिम दबाबमा देखिएको थियो । इनिङ्सको अन्त्यतिर फाहिम असरफले ११ बलमा २९ रन बनाए र यो नै जितका लागि निर्णायक साबित भयो ।
