वेस्ट इन्डिजको जितमा सेफर्डको ह्याट्रिक

कोलकाताको इडेन गार्डेनमा जितका लागि १ सय ८३ रनको लक्ष्य पाएको स्कटल्यान्ड १८.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Shepherd's hat-trick in West Indies' win

काठमाडौँ — रोमारियो सेफर्डको ह्याट्रिकको मद्दतले दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजले शनिबार ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकालेको छ ।

कोलकाताको इडेन गार्डेनमा जितका लागि १ सय ८३ रनको लक्ष्य पाएको स्कटल्यान्ड १८.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो । वेस्ट इन्डिज जितको नायक रहेको सेफर्डले एकै ओपरमा चार विकेट लिए ।

समग्रमा उनको प्रदर्शन २० रनमा पाँच विकेट रह्यो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै टम ब्रुस २८ बलमा ३५ रन बनाएर आउट भए । वेस्ट इन्डिजका अन्य बलरमध्ये जेसन होल्डरले ३० रनमा तीन विकेट लिए । यो जितले वेस्ट इन्डिजको समूह ‘सी’ मा दुई अंक भएको छ ।  

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले सिमरन हेटमेयरको ६४ रनको मद्दतले पाँच विकेटमा १ सय ८२ रन बनाएको थियो । हेटमेयरले ३६ बलमा दुई चौका र छ छक्का प्रहार गरे ।

यस्तै ब्रेन्डन किंगले ३५, रभमन पावेलले २४ र सेरफन रडरफोर्डले २६ रनको योगदान गरे । स्कटिस बलर ब्राड करीले २३ रनमा दुई विकेट लिए ।

कान्तिपुर

Link copied successfully