ट्वान्टी–२० क्रिकेटको स्वभाव नै यस्तो छ, यसले नयाँ अनुहारलाई जहिल्यै मौका दिइरहेको हुन्छ, यसपल्टको ट्वान्टी–२० विश्वकपमा प्रभाव पार्नसक्ने सम्भावित पाँच खेलाडी
What you should know
मुम्बई — ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो विशेषता भन्नु नै कुनै पनि बेला कोही खेलाडी चम्कन सक्नु हो । ट्वान्टी–२० क्रिकेटको स्वभाव नै यस्तो छ, यसले नयाँ अनुहारलाई जहिल्यै मौका दिइरहेको हुन्छ ।
स्तोमा यसपल्टको ट्वान्टी–२० विश्वकपमा यस्ता पाँच खेलाडीको सूची बनाएका छौं, जसबाट साँच्चै धेरै आस गर्न सकिन्छ । यी नयाँ अनुहारले यो विश्वकपलाई सनसनीपूर्ण बनाउन सक्छन् ।
अभिषेक शर्मा (भारत)
यी भारतीय खेलाडी ओपनरको भूमिकामा देखा पर्छन् । पहिलो बलदेखि कडाभन्दा कडा प्रहार गर्न मन पराउने गर्छन् । अभिषेकको स्ट्राइकर रेट नै १ सय ९४ भन्दा बढी छ । त्यसैले उनी अहिलेका लागि ट्वान्टी–२० को वरीयतामा नम्बर एक ब्याटरका रूपमा छन् । उनले अहिलेसम्म भारतका लागि खेलेको भनेको पनि यही ट्वान्टी–२० क्रिकेट मात्रै हो, त्यो पनि भर्खरै जस्तो हो । यसबीच उनले ३७.०५ को औसतमा दुई शतक र आठ अर्धशतक प्रहार गरिसके । जति बेला उनी क्रिजमा हुन्छन्, विपक्षी बलरका लागि त्यो तनावकै विषय रहने गर्छ । सन् २०२५ को एसिया कपमा उनी उत्कृष्ट खेलाडी नै भए । त्यसमा उनले दुई सयको स्ट्राइकमा रन बनाए अनि लगातार तीन अर्धशतक । इन्डियन प्रिमियर लिगपछि अभिषेकले खेलेको पहिलो ठूलो प्रतियोगिता भन्नु नै यही थियो । भारतले सन् २०२४ मा जितेको यस विश्वकपको उपाधि रक्षा गर्ने हो भने अभिषेकको काँधमा ठूलै जिम्मेवारी हुनेछ ।
ज्याकोब बेथल (इंग्ल्यान्ड)
इंग्ल्यान्डका २२ वर्षीय अलराउन्डरले ट्वान्टी–२० क्रिकेटको खास स्वाद चाखेको भनेकै गत वर्षको इन्डियन प्रिमियर लिगमा हो । त्यो पनि रोयल च्यालेन्जर्स बेंगलुरुका लागि । त्यस प्रतियोगितामा उनले दुई खेल मात्र खेले, तर डेब्युमै ३३ बलमा ५५ रन बनाए । यो प्रदर्शन चेन्नाइ सुपर किंग्सविरुद्ध थियो । त्यसमा बेंगलुरु २ रनले विजयी रह्यो । अनि बेथलको लोकप्रियता ह्वात्तै बढेको थियो ।
सिड्नीमा भएको एसेज टेस्टको अन्तिम खेलमा उनले १ सय ५४ रनको सानदार इनिङ्स खेले । यसले प्रमाणित गरेको यी खेलाडी ट्वान्टी–२० मात्र होइन, पारम्परिक क्रिकेटमा पनि उत्तिकै दखल राख्न सक्छन् । बेथलको सबैभन्दा राम्रो पक्ष भन्नु नै भारतीय परिस्थितिमा खेल्न सक्नु हो । उनी स्पिन आक्रमणविरुद्ध पनि राम्रो खेल्छन् । फेरि उनी उत्तिकै उपयोगी बलर पनि हुन्, लेफ्टआर्म स्पिनरका रूपमा ।
डेवाल्ड ब्रेभिस (दक्षिण अफ्रिका)
फ्रेन्चाइज क्रिकेटको उत्पादन ब्रेभिसले धेरै चाँडै मुम्बई इन्डियन्सको अनुबन्ध पाइहाले । सन् २०२२ को यू–१९ विश्वकपमा राम्रो गरेपछि उनीमाथि सबैको नजर पर्यो भन्दा हुन्छ । तर कुरा यत्तिकैमा सकिन्न । मुम्बईबाट खेले लगत्तै उनले अन्य फ्रेन्चाइज क्रिकेट टिमबाट पनि मौका पाए । सन् २०२२ मा उनी जतिबेला १९ वर्षका थिए, उनले दक्षिण अफ्रिकाका लागि सबैभन्दा उच्च ट्वान्टी–२० स्कोर बनाए । त्यो ५७ बलमा १ सय ६२ रन थियो । त्यसपछि उनले एउटा उपनाम पाइहाले, बेबी एबी । अर्थात दक्षिण अफ्रिकाका पुराना खेलाडी एबी डी भिल्लियर्सको नयाँ रूप । त्यसपछि केही उतारचढावबीच उनी चेन्नई सुपर किंग्समा आबद्ध भए र गुजरात टाइटन्सविरुद्धको एउटा खेलमा २३ बलमै ५७ रन जोडे । त्यसमा उनी प्लेयर अफ द म्याच नै भए । धेरैलाई लागेको छ, सायद अबको ट्वान्टी–२० क्रिकेट भनेको उनी जस्तै खेलाडीको हो र यो विश्वकप त्यसलाई प्रमाणित गर्ने अवसर ।
नूर अहमद (अफगानिस्तान)
राशिद खानले तय गरेको बाटो पछ्याउने क्रममा रहेका नूर अहमद अहिले नै फ्रेन्चाइज क्रिकेटमा ठूलो आकर्षण भइसके । अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेर आफूलाई प्रमाणित गरेपछि उनले धेरै स्थानमा ट्वान्टी–२० क्रिकेट खेले । यी देशका सूची यस्तो छ भारत, यूएई, दक्षिण अफ्रिका, अमेरिका, बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र वेस्ट इन्डिज । यो सबै उपलब्धि उनले २२ वर्ष नपुग्दै हात पारेका हुन् । भारत र श्रीलंकाका स्पिनरलाई सहयोग गर्ने पिचमा उनी जहिल्यै उपयोगी बलर हुने गर्छन् । त्यसैले त उनलाई चेन्नई सुपर किंग्सले १२ लाख डलरमा किनेको । आईपीएलको पछिल्ला दुई सिजनमा उनले ३२ विकेट लिइसकेका छन् । जतिबेला राशिद र नूरले एकैपल्ट दुई छेउबाट आक्रमण बुन्ने गर्छन्, यसले विपक्षी टिमले दुःख पाउने गर्छ ।
फिन एलेन (न्युजिल्यान्ड)
जतिबेला उनले आफ्नो करियर सुरु गरेका थिए, एलेनको प्रदर्शन एकनासको थिएन, उतारचढावले भरिएकै थियो । तर एउटा कुरा के तय थियो, उनको ट्वान्टी–२० क्रिकेटका लागि सुहाउने आक्रमण ब्याटिङ शैली भने छ । सन् २०२४ मा उनले पाकिस्तानविरुद्ध १६ छक्कासहित सानदार शतकीय इनिङ्स खेले । उनले त्यतिबेला ६२ बलमै १ सय ३७ रन बनाएका थिए । त्यसपछि त के चाहियो उनले एकपछि अर्को गरेर धेरै फ्रेन्चाइज क्रिकेट खेले । पछिल्लो बिगबासमै पनि उनले पर्थका लागि ४ सय ६६ रन बनाएका थिए । लगत्तै उनी भारत पुगे र ३६ बलमा ८० रन बनाए । न्युजिल्यान्ड त्यस खेलमा विजयी त रहेन, तर उनी सबैको ध्यान खिच्न सफल रहे । न्युजिल्यान्डले पहिलो पटक ट्वान्टी–२० विश्वकप जित्ने हो भने उनको ब्याट चल्नैपर्छ ।
