साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि

बंगलादेशलाई ४-० ले पराजित गर्दै भारतले उपाधि चुमेको हो ।

माघ २४, २०८२

दीपक परियार

India wins SAFF U-19 Women's Championship

पोखरा — साबिक विजेता बंगलादेशलाई ४-० ले पराजित गर्दै भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा भारतले चामत्कारिक खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो । यसअघि बंगलादेशले लिग चरणमा भुटानलाई १२-०, भारतलाई २-० र नेपाललाई ४-० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।

भारतले भने नेपाललाई १-० र भुटानलाई ८-० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।

महिला उमेर समूहमा यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ । यसअघि दुईपल्ट फाइनल प्रवेश गरेको नेपाल यसपल्ट भने लिग चरणबाटै बाहिरिएको थियो । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully