शनिबार धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा प्लानिङ ब्वाइजले पहिलो हाफको ४३औं मिनेटमा केबेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
धरान — २६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौंले न्युरोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
शनिबार धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा प्लानिङ ब्वाइजले पहिलो हाफको ४३औं मिनेटमा केबेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको प्लानिङ ब्वाइज युनाइटेडले खेलको ८६औं मिनेटमा श्याम मुरमुरको गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गर्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइज युनाइटेडका गोलरक्षक योगेश धिमाल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाा पुरस्कार प्राप्त गरे।
एनआरटी अघिल्लो दुई संस्करणको लगातार विजेता टोली भए पनि यसपटक पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ।
प्रतियोगिताअन्तर्गतआइतबार हुने खेलमा नेपाल पुलिस क्लब, काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौं बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
