पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको नेपालले दोस्रो अभ्यासमा क्यानडामाथि ६ विकेटको जित निकाल्यो।
What you should know
मुम्बई — नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी ट्वान्टी २० विश्वकपका लागि तयार भएको छ । आसिफ शेख र सन्दीप जोराको महत्त्वपूर्ण साझेदारीमा नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बिहीबार क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।
आधिकारिक दुबै अभ्यास खेल जितेर नेपाल शनिबार सुरु हुने विश्वकपका लागि तयार भएको छ । मंगलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको नेपालले आइतबार इंग्ल्यान्डसँग खेलेर विश्वकपको यात्रा सुरु गर्दै छ । दुई वर्षअघि अमेरिकामा भएको विश्वकप अभ्यास खेलमा क्यानडाले डालासमा नेपाललाई ६३ रनले हराएको थियो ।
चेन्नईको चेपकस्थित एमए चिदम्बरम रंगशालामा नेपालले १ सय ६२ रनको लक्ष्य २ ओभर अगाडि नै पुरा गरेको थियो । ओपनर आरिफले ५८ र जोराले ४४ रन बनाए । यी दुईले दोस्रो विकेटमा ५२ बलमा ८४ रनको साझेदारी गरेका थिए । आसिफले २९ बल खेल्दै ६ चौका र ३ छक्का तथा जोराले ३० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल ११ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १२ रनमा आउट भए । नियमित कप्तान रोहित पौडेल ‘क्याप्टेन्स डे’ का लागि मुम्बई आएको अवस्थामा नेपाली टोलीको नेतृत्व उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेका थिए । अघिल्लो खेलमा अर्धशतक बनाएका उनी ६ बलमा १ चौका प्र्रहारग गर्दै ९ रनमा अविजित रहे ।
त्यसअघि गुलशन झाले ३१ रनको अविजित इनिङ्स खेलेका थिए । उनले २५ बलमा ५ चौका प्रहार गरे । लोकेश बम ८ बलमा ५ रनमा आउट भए । क्यानडाका जसकरण सिंह, साद बिन जाफर र अजयवीर हुन्डाईले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो । ओपनर नवनित ढालिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलको खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । उनका ओपनिङ जोडी युवराज शर्मा ७ रनमा आउट भए ।
कनवरपल टाठगुर २४ बलमा २ चौका र १ छक्कासहित २५, निकोलस कीर्तन १०, हर्ष ठाकेर ८ रनमा आउट भए । जसकरणले ३ छक्का प्रहार गर्दै ११ बलमा २१ रन बनाए । श्रेयस मोभा १९ बलमा ३८ रन बनाई अविजित रहे । उनले २ चौका र ३ छक्का प्रहार गरे । नेपालबाट सन्दीप लामिछाने र कुशलले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा १४ र कुशलले ३ ओभरमा २६ रन खर्चे । सोमपाल कामी र नन्दन यादवको नाममा १–१ विकेट रह्यो ।
नेपाली टोली शुक्रबार चेन्नईबाट मुम्बई आइपुग्ने छ । क्यानडा चेन्नईमै भएको पहिलो अभ्यास खेलमा इटालीसँग १० रनले पराजित भएको थियो । क्यानडाले सोमबार अहमदाबादमा दक्षिण अफ्रिकासँग खेलेर ट्वान्टी–२० विश्वकप सुरु गर्नेछ । क्यानडा लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्दै छ । क्यानडा पनि अमेरिकी क्षेत्रको सबै ६ खेल जितेर ट्वान्टी–२० विश्वकप आइपुगेको हो ।
