भारत, पाकिस्तान र बंगलादेशको त्रिकोणात्मक भूराजनीतिक भुमरीमा विश्वकप

रोमाञ्चक प्रतिस्पर्धा र ठूलो ‘फ्यान बेस’ का कारण आकर्षक आर्थिक लाभ हुने भएकाले आईसीसी विश्वकपमा भारत र पाकिस्तान पटक–पटक मैदानमा भिडून् भन्ने चाहन्छ तर भूराजनीतिक कारणले यसपटक कम्तिमा पनि समूह चरणमा परम्परागत यी दुई प्रतिस्पर्धीबीच खेल नहुने निश्चित छ, बंगलादेशले यसअघि नै विश्वकप नखेल्ने निर्णय गरिसकेको छ।

माघ २२, २०८२

विनोद पाण्डे

The World Cup in the triangular geopolitical vortex of India, Pakistan and Bangladesh

What you should know

काठमाडौँ — खेलले पूरा देशलाई एकबद्ध बनाउँछ । अझ नेपालमा हेर्ने हो भने जेन–जी आन्दोलनपछिको अन्योलपूर्ण राजनीति र प्राकृतिक प्रकोपले अप्ठ्यारो स्थितिमा पुगेको देशलाई वेस्ट इन्डिजसँग ‘युनिटी कप’ खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकजुट बनाउँदै आशाको सञ्चार गरेको थियो ।

यसै साता भारतमा सुरु हुन लागेको ट्वान्टी–२० विश्वकप क्रिकेटले नेपाल मात्र नभएर पूरै दक्षिण एसियामा उत्सवमय वातावरण बन्ने विश्वास गरिएको थियो । नेपालसमेत सहभागी भइरहेको बहुप्रतीक्षित विश्वकपमा यतिबेला छिमेकी मुलुकबीचको सम्बन्ध र भूराजनीतिक द्वन्द्वको छाया परेको छ । 

विश्व क्रिकेट सम्भवतः यति अप्ठ्यारो स्थितिबाट यसअघि गुज्रिनुपरेको थिएन । दक्षिण एसियामा क्रिकेटलाई ‘धर्म’ सरह मानिन्छ, त्यही खेल अहिले विवादको ‘इपिसेन्टर’ बनेको छ । क्रिकेटले चिनिएका देशहरूबीचको कटुतापूर्ण सम्बन्धले विश्व क्रिकेटमै संकट देखिएको त छ नै, छोटो समयमा लोकप्रिय बनेको ट्वान्टी–२० विश्वकप ओझेलमा परेको छ ।

औपचारिक उद्घाटन हुन तीन दिन मात्र बाँकी रहे पनि ट्वान्टी–२० विश्वकप कुन स्थितिमा सुरु भई कसरी टुंगिने अझै निश्चित छैन । यसले विश्वकपलाई लिएर क्रिकेटप्रेमीहरूको उत्साहमा समेत कमी आउने हो कि भन्नेमा खेल विश्लेषकहरू चिन्तित देखिएका छन् ।

विश्व क्रिकेटको शक्ति राष्ट्रमध्येको एक पाकिस्तानले आइतबार विश्वकपको समूह चरणमा भारतसँग निर्धारित खेल नखेल्ने निर्णय गरेपछि क्रिकेटप्रेमीलाई थप निराश बनाएको छ । भारत र पाकिस्तान ‘ए’ समूहमा छन् । दुवै देशबीच राजनीतिक रूपमा सुमधुर सम्बन्ध छैन । तर, यी दुईबीच क्रिकेट मैदानमा हुने खेल विश्व क्रिकेटकै रोमाञ्चक प्रतिस्पर्धा मानिँदै आएको छ । तर, भारतसँग नखेल्ने पाकिस्तान सरकारको पछिल्लो निर्णयले क्रिकेटप्रेमी यी दुई देशबीचको रोमाञ्चक प्रतिस्पर्धा हेर्नबाट वञ्चित हुनेछन् । यसले विश्वकप प्रतियोगिताको रौनकमै समेत असर पुग्ने निश्चित छ ।

यस पटक विश्वकपलाई विवादमा तान्ने कामको सुरुआत भने इन्डियन प्रिमियर लिग (आईपीएल) बाट भएको थियो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को निर्देशनमा आईपीएल फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी तीव्र बलर मुस्ताफिजुर रहमानलाई आफ्नो टोलीबाट हटाएपछि विवादको बीजारोपण भएको थियो । उनै मुस्ताफिजुरलाई कोलकाताले डिसेम्बरमा मात्र १० लाख डलरमा मेघा अक्सनबाट लिएको थियो ।

मुस्लिम बाहुल्य रहेको बंगलादेशमा अल्पसंख्यक समुदायमाथि दमन भइरहेको पृष्ठभूमिमा भारतले यो निर्णय गरेको थियो । सन् २०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारतनिकट बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पदच्युत हुन पुगेकी थिइन् । त्यसयता हसिना भारतमा शरण लिएर बसिरहेकी छन् । यसले भारत र बंगलादेशको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ । भारतका विदेशमन्त्रीले गत महिना मुस्लिम बहुसंख्यक भएको बंगलादेशमा अल्पसंख्यकप्रति निरन्तर शत्रुतापूर्ण व्यवहार भइरहेको भनेर निन्दा गरेका थिए ।

मुस्ताफिजुरलाई आईपीएलको टोलीबाट हटाउने निर्णय भएपछि बंगलादेशले सुरक्षाको कारण देखाई भारतमा गएर ट्वान्टी–२० विश्वकप खेल्न अस्वीकार गरी श्रीलंकामा आफ्नो खेल सार्न अनुरोध गरेको थियो । कोलकाता र मुम्बईमा समूह चरणको खेल खेल्नुपर्ने तालिका सार्वजनिक भई टिकट बिक्री भइसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बंगलादेशको अनुरोध स्वीकार्ने स्थितिमा थिएन ।

बंगलादेशको सुरक्षा चुनौतीको दाबी विश्वसनीय नभएको भन्दै आईसीसीले श्रीलंकामा खेल सार्न अस्वीकार गरेको थियो । आखिर बंगलादेशले विश्व क्रिकेटको सर्वोच्च निकायसँग त्यस्तो लडाइँ लडेको थियो, जुन ऊ जित्नै सक्दैनथ्यो । 

त्यसपछि बंगलादेशलाई विश्वकपबाट हटाउने निर्णय आईसीसीले गर्‍यो, जुन निर्णयको प्रभाव उसको क्रिकेट टोलीमा लामो समय पर्ने निश्चित छ । तत्काललाई हेर्ने हो भने विश्वकपमा सहभागिता जनाएबापत पाउने ५ लाख डलर बंगलादेशले गुमाइसकेको छ । भविष्यमा उसको वरीयतामा पनि असर पर्नेछ र आउँदो विश्वकपमा बंगलादेशले छनोट प्रतियोगिता खेल्नुपर्ने स्थिति आउन सक्छ । आईसीसीको पटक–पटकको अनुरोधलाई बंगलादेशले सुन्नै चाहेन र कठोर निर्णय लिएको थियो ।

आईसीसीले बंगलादेशको स्थानमा उच्च वरीयताको हिसाबमा स्कटल्यान्डलाई ट्वान्टी–२० विश्वकपमा समावेश गरेको छ । प्रतियोगिता सुरु हुन १५ दिनअघि मात्र सहभागिता निश्चित भएकाले स्कटल्यान्ड ‘किट’ प्रायोजकबिनै भारत पुगेको छ । आईसीसी र स्कटल्यान्डका लागि यस्तो पहिलो घटना भने होइन ।

यसअघि इंग्ल्यान्डले राष्ट्रपति रोबर्टो मुगाबेको तानाशाही प्रवृत्तिको विरोध गर्दै सन् २००३ को आयोजकमध्ये एक जिम्बावेमा गएर विश्वकप खेल्न अस्वीकार गरेको थियो । जवाफमा जिम्बावे पनि सन् २००९ मा इंग्ल्यान्डले आयोजना गरेको ट्वान्टी–२० विश्वकपमा सहभागी नै भएन । जिम्बावेले प्रतियोगिताबाट हात झिकेपछि अन्तिम समयमा स्कटल्यान्डले अवसर पाएको थियो । यस पटक बंगलादेशले भारतमा नखेल्ने निर्णय गर्दा स्कटल्यान्डले १७ वर्षपछि फेरि त्यस्तै अवसर पाएको हो ।

जबकि ट्वान्टी–२० विश्वकपको युरोपको छनोटमा स्कटल्यान्डलाई नेदरल्यान्ड्स र इटालीले उछिनेका थिए । अहिले स्कटल्यान्डले त्यही इटालीसहित नेपाल, इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग समूह चरणको खेल खेल्नेछ । आईसीसीको भर्चुअल बैठकले बंगलादेशलाई ट्वान्टी–२० विश्वकपबाट हटाएको थियो । यसमा अन्य सहभागीले सहमति जनाए पनि पाकिस्तान क्रिकेट बोर्डले बंगलादेशको समर्थन गरेको थियो ।

पाकिस्तान र भारत दुवैले एकअर्काको देशमा गएर खेल्न अस्वीकार गर्दै आएका छन् । त्यसैले पाकिस्तानले यस ट्वान्टी–२० विश्वकप भारतमा गएर नखेल्ने भएको हो । निर्धारित तालिकाअनुसार भारतको अहमदाबादमा फाइनल हुनेछ तर पाकिस्तान फाइनलमा पुगेमा यो श्रीलंकाको कोलम्बोमा हुनेछ । बंगलादेश र पाकिस्तान दुवैको आवाज एउटै बनेको थियो, पाकिस्तानले जस्तै ‘हाइब्रिड’ संरचनामा बंगलादेशले पनि आफ्नो खेल भारतमा नभएर श्रीलंकामा खेल्न पाउनुपर्नेछ ।

बंगलादेशलाई प्रतियोगिताबाट हटाउने आईसीसीको निर्णयमा पुनर्विचार गरिरहेको पाकिस्तानले जनाएको थियो । अहिले विश्वकपमा सहभागी भए पनि भारतसँग नखेल्ने निर्णय पाकिस्तानले गरेको हो । लगत्तै आईसीसीलाई चेतावनी दिँदै भनेको छ, ‘पाकिस्तान क्रिकेट बोर्डलाई आपसी रूपमा स्वीकार्य समाधान खोज्न अपेक्षा गर्छ । जसले सबै सरोकारवालाको हित संरक्षण गर्दछ ।’

पाकिस्तान सरकारले विश्वकपमा भारतसँग नखेल्ने निर्णय गरेको केही क्षणमा पाकिस्तानको यू–१९ टोली दक्षिण अफ्रिकामा भइरहेको यू–१९ विश्वकपमा भारत यू–१९ सँग पराजित भएको थियो । यू–१९ मा भारतसँग खेले पनि राष्ट्रिय टोलीमा भने नखेल्ने निर्णयमा पाकिस्तान पुगेको हो ।

विश्वकपमा भारत र पाकिस्तानका लागि गरिएको खेल तालिकाको ‘डिजाइन’ लाई लिएर त्यसै पनि आईसीसीको आलोचना हुँदै आएको छ । अपवाद छाड्ने हो भने अधिकांश विश्वकपमा भारत र पाकिस्तानलाई एकै समूहमा राखिँदै आएको छ । त्यसपछि सुपर ‘एट’ मा पुनः यी दुई टोलीको भेट हुनेछ भने फाइनल पनि यी दुई चिरप्रतिद्वन्द्वीको भिड्ने सम्भावना बलियो हुने गर्छ ।

 भारत र पाकिस्तानलाई खेलाउँदा उनीहरूबीचको प्रतिस्पर्धा र ठूलो ‘फ्यान बेस’ का कारण आईसीसीलाई ठूलो आर्थिक लाभ हुने गरेको छ । यस्तोमा आईसीसी विश्वकपमा भारत र पाकिस्तानको एक पटक होइन, तीन पटक खेल होस् भन्ने चाहन्छ । तर यस पटक भारत र पाकिस्तानबीच समूह चरणको खेल भने नहुने निश्चित भएको छ । पछिका चरणका खेलबारे भने पाकिस्तानले हालसम्म केही खुलाएको छैन ।

पाकिस्तानको निर्णयपछि समूह चरणमा उसले भारतसँगको खेल छाड्नेछ अर्थात् ‘वाकओभर’ दिनेछ । विश्वकपको नियमले खेल छाड्ने टोलीको रन रेटमा पनि नकारात्मक असर पार्नेछ । त्यस हिसाबमा पाकिस्तानलाई सुपर ‘एट’ मा पुग्न कठिन बन्न सक्छ । पाकिस्तानले ७ फेब्रुअरीमा नेदरल्यान्ड्स, १० मा अमेरिकासँग खेलेपछि भारतसँग १५ तारिखमा कोलम्बोमा खेल्ने तालिका छ । पाकिस्तानले समूहको अन्तिम खेल फेब्रुअरी १८ मा नामिबियासँग खेल्नेछ ।

दुई वर्षअघिको विश्वकपमा अमेरिकासँग पराजित भएर पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो । भारतसँगको खेल परित्याग गरिसकेको अवस्थामा अर्को कुनै एक खेलमा हार बेहोर्नुपरेमा पाकिस्तानलाई अमेरिकामै भोगेको नियति दोहोरिने लगभग पक्का हुनेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully